
मंसिर ६, पोखरा। १२औँ अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलनले हिमालयन भूविज्ञानको अध्ययन तथा अनुसन्धानलाई प्रवर्द्धन गर्दै प्राकृतिक स्रोतको दिगो व्यवस्थापन र विपद् जोखिम न्यूनीकरणमा जोड दिएको छ।
नेपाल भौगर्भिक समाजद्वारा आयोजित तीनदिने सम्मेलनमा हिमालयको भूवैज्ञानिक विकास, भूकम्प, पहिरो, जलवायु परिवर्तन, जलस्रोत, खनिज स्रोत, उत्थानशील पूर्वाधार तथा आधुनिक भूवैज्ञानिक प्रविधिका विषयमा व्यापक छलफल भएको समाजका अध्यक्ष भास्कर खतिवडाले जानकारी दिए।
सम्मेलनमा नेपालसहित २७ देशका ३४५ जना भूवैज्ञानिक, अनुसन्धानकर्ता, प्राज्ञिक व्यक्तित्व तथा सरोकारवालाको सहभागिता रहेको थियो। सम्मेलनमा हिमालयन भूविज्ञान, टेक्टोनिक्स, इन्जिनियरिङ भूविज्ञान, पर्वतीय पूर्वाधार, प्राकृतिक प्रकोप, जलवायु परिवर्तन, खनिज तथा ऊर्जा स्रोत, डिजिटल भूविज्ञान, रिमोट सेन्सिङ र नीतिगत अभ्यासलगायतका विषयमा वैज्ञानिक बहस गरिएको थियो।
विशेषगरी रसुवा जिल्लामा देखिएका विपद् तथा बहुप्रकोपीय जोखिमका विषयमा केन्द्रित रहेर विभिन्न अध्ययन तथा अनुसन्धान प्रस्तुत गरिएको थियो।
समाजका महासचिव शिवकुमार बाँस्कोटाका अनुसार ‘उत्थानशील, दिगो तथा स्रोत–सुरक्षित विश्वका लागि हिमालयन भूविज्ञानको उन्नयन’ मूल विषयवस्तुमा केन्द्रित सम्मेलनमा सातवटा मुख्य वक्तव्य, १३ वटा आमन्त्रित प्रस्तुति, ७६ वटा अनुसन्धानात्मक कार्यपत्र र ५८ वटा पोस्टर प्रस्तुति समावेश थिए।
सम्मेलनले भूवैज्ञानिक अनुसन्धानलाई व्यवहारमा उतार्दै विपद् व्यवस्थापन, विकास निर्माण र प्राकृतिक स्रोतको उपयोगलाई वैज्ञानिक तथा दिगो बनाउनुपर्ने निष्कर्ष निकालेको छ।
साथै वैज्ञानिक तथ्याङ्कको गुणस्तर सुधार, आधुनिक अनुगमन प्रविधिको प्रयोग, बहुविषयगत अनुसन्धान तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सहकार्य विस्तारमा जोड दिइएको छ।
सम्मेलनले शैक्षिक संस्था, सरकारी निकाय र वैज्ञानिक समुदायबीच समन्वय तथा सहकार्य अभिवृद्धि गर्दै हिमालयन र पर्वतीय भूविज्ञानसम्बन्धी अनुसन्धानलाई थप प्रभावकारी बनाउनसमेत सुझाव दिएको छ।






