
फाईल तस्बिर
मंसिर ६, पोखरा।
प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज दुईदिने राजकीय भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्दै छन्। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि छिमेकी मुलुक भारतमा उनको यो पहिलो राजकीय भ्रमण हो।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले आजै भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी, उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेट गर्नेछन्। सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ। प्रधानमन्त्री शाहले सोमबार नै नयाँ दिल्लीस्थित महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धासुमन अर्पण गर्ने कार्यक्रमसमेत रहेको छ।
भ्रमणका क्रममा नेपाल–भारतबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयलाई प्राथमिकता दिइनेछ। दुई देशबीच सम्पर्क सञ्जाल विस्तार र ऊर्जा सहकार्यासम्बन्धी सम्पन्न परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत तय भएको छ।
त्यसैगरी, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गरिनेछ।
भ्रमणकै अवसरमा नेपाल–भारत बिजनेस फोरम आयोजना हुनेछ। उक्त कार्यक्रममा भारतीय व्यवसायी तथा लगानीकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालमा लगानीका सम्भावना, सरकारी नीति तथा लगानीमैत्री वातावरणबारे जानकारी गराउनेछन्। यसबाट दुई देशका निजी क्षेत्रबीच व्यावसायिक सम्बन्ध र लगानी सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकार, उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मी सहभागी रहनेछन्।
दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी हित र साझा समृद्धिका नयाँ सम्भावना खोज्ने अवसरका रूपमा यस भ्रमणलाई हेरिएको छ। प्रधानमन्त्री शाह भ्रमण सम्पन्न गरी सोमबार साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ।






