
६ मार्ग पोखरा
आर्थिक अवस्था कमजोर भएका तथा अव्यवस्थित बसोबास गर्दै आएका परिवारलाई आत्मनिर्भर बनाउँदै बालबालिकाको शिक्षामा सहज पहुँच स्थापित गर्ने उद्देश्यले नेस्ट पोखराले सञ्चालन गरेको कार्यक्रम प्रभावकारी देखिएको छ। पोखरा महानगरपालिका–१५ मा सञ्चालित परियोजनाले अभिभावकलाई सीप विकास र आयआर्जनका अवसर प्रदान गर्नुका साथै बालबालिकालाई शैक्षिक सामग्री तथा विद्यालय पोसाक सहयोग गरेको छ।
कार्यक्रमबाट लाभान्वित पोखरा–१५ अमिनतरा निवासी विष्णु परियारले सिलाइकटाइ तालिम र संस्थाबाट प्राप्त सिलाइ मेसिनले आफूलाई आत्मनिर्भर बन्न सहयोग पुगेको बताइन्। सीप सिकेर आम्दानी गर्न थालेपछि आफ्ना बालबालिकालाई विद्यालय पठाउन र उनीहरूको पढाइमा खर्च जुटाउन सहज भएको उनको अनुभव छ।
पोखरा–१५ मा विष्णुजस्तै करिब तीन सयभन्दा बढी स्थानीय बासिन्दा नेस्ट पोखराको कार्यक्रमबाट लाभान्वित भएको वडाध्यक्ष तोरण बानियाँले जानकारी दिए। शनिबार पोखरा–१५ फलेपाटनस्थित सिद्ध माध्यमिक विद्यालयमा आयोजित सामग्री तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उनले सहयोगी संस्थाप्रति आभार व्यक्त गरे।
वडाध्यक्ष बानियाँले दातृ निकायबाट प्राप्त सहयोगलाई उत्पादन र आम्दानीसँग जोड्नुपर्नेमा जोड दिँदै त्यसबाट हुने आम्दानी बालबालिकाको शिक्षा र भविष्य निर्माणमा खर्च गर्न अभिभावकलाई आग्रह गरे। आगामी दिनमा पनि नेस्ट पोखरासँग सहकार्य गरी यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरे।
परियोजनाअन्तर्गत शनिबार ९३ जना विद्यार्थीलाई प्रतिविद्यार्थी छ हजार रुपैयाँभन्दा बढी मूल्यका शैक्षिक सामग्री तथा विद्यालय पोसाक वितरण गरिएको छ। त्यस्तै, विद्यालयको कक्षा सञ्चालनका लागि आवश्यक एक लाख ५० हजार रुपैयाँ बराबरका शैक्षिक सामग्रीसमेत सहयोग गरिएको नेस्ट पोखराका प्रमुख कार्यकारी अधिकृत हरि लुइँटेलले जानकारी दिए।
कार्यक्रममार्फत अभिभावकलाई मौरीपालन, ढकिया निर्माण, साबुन, झोल साबुन, फिनेल तथा हार्पिक उत्पादन, क्रिस्टलका गहना निर्माण र सिलाइबुनाइलगायतका सीपमूलक तालिम प्रदान गरिएको थियो। त्यसैगरी, वडा नम्बर १५ मा १० वटा सिलाइ मेसिन र १५ वटा मौरीका घार वितरण गरिएको छ।
सीपलाई व्यावसायिक उत्पादन र आम्दानीसँग जोड्ने प्रयाससमेत सुरु भएको छ। यसका लागि वडामा रूपान्तरण महिला समूह गठन गरिएको छ। समूहमा आबद्ध महिलाहरूले फिनेल, हार्पिक तथा साबुन उत्पादन गरी बिक्रीवितरणसमेत सुरु गरेका छन्।
विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालाले बाढीपहिरो र चाडपर्वका कारण दुई महिनाअघि नै आयोजना गर्ने भनिएको कार्यक्रम केही ढिलो गरी सम्पन्न भएको बताए। उनले विद्यार्थीलाई शैक्षिक सामग्री र पोसाक तथा अभिभावकलाई सीप विकासको अवसर प्रदान गरेकोमा आयोजक संस्थाप्रति धन्यवाद व्यक्त गरे।
नेस्ट पोखराका सचिव कुम गुरुङले अभिभावकलाई सीप सिकाएर आम्दानीको अवसर सिर्जना गर्नु र त्यसबाट बालबालिकाको शिक्षामा सहयोग पुर्याउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए। आर्थिक अभावकै कारण बालबालिकाको सिकाइ र शिक्षामा अवरोध आउन नदिन परियोजना सञ्चालन गरिएको उनको भनाइ थियो।
त्यस्तै, कार्यसमिति सदस्य महेन्द्र लामिछानेले जर्मन दूतावासको सहयोगमा वडा नम्बर १५ मा सीप विकास तथा जीविकोपार्जनसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। अभिभावकलाई आर्थिक रूपमा सक्षम बनाउँदै बालबालिकाको भविष्य निर्माणमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम अघि बढाइएको उनले बताए। घरलाई नै बालबालिकाको पहिलो विद्यालयका रूपमा विकास गरी अभिभावकले पठनमैत्री र बालमैत्री वातावरण निर्माण गर्नुपर्नेमा पनि उनले जोड दिए।
कार्यक्रमको अध्यक्षता गरेकी नेस्ट पोखराकी उपाध्यक्ष कमला श्रेष्ठले बालबालिकाको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको बताइन्। वितरण गरिएका सिलाइ मेसिनको सदुपयोग गर्दै महिलाहरूलाई आयआर्जनमा जोडिएको देख्न चाहेको उल्लेख गर्दै उनले मौरीपालन कार्यक्रमको प्रभाव पनि सकारात्मक रहेको बताइन्।
नेस्टका प्रमुख कार्यकारी अधिकृत लुइँटेलले परियोजनाले अभिभावकको आर्थिक आत्मनिर्भरता र बालबालिकाको शिक्षाको निरन्तरतामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा विद्यार्थी, अभिभावक, स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।






