
तुलसी राम सुवेदी
पोखरा, २९ भदौ ।
हिन्दू महिलाहरूको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मनाइने हरितालिका तीजको रौनक देशभर बढेको छ। विशेषगरी महिलाहरूले श्रद्धा, भक्ति र उल्लासका साथ मनाउने तीज धार्मिक आस्था, पारिवारिक सुख–शान्ति, दाम्पत्य जीवनको दीर्घायु तथा सामाजिक सद्भावसँग जोडिएको पर्वका रूपमा स्थापित छ।
हरितालिका तीज भगवान् शिव र माता पार्वतीको पवित्र मिलनसँग सम्बन्धित धार्मिक विश्वासमा आधारित छ। पौराणिक कथाअनुसार माता पार्वतीले भगवान् शिवलाई पति रूपमा प्राप्त गर्न कठोर तपस्या र व्रत गरेकी थिइन्। पार्वतीकी सखीहरूले उनलाई सुरक्षित स्थानमा लगेर तपस्या गर्न सहयोग गरेकाले ‘हरितालिका’ नाम रहन गएको धार्मिक मान्यता छ। सोही घटनाको स्मरण गर्दै महिलाहरूले शिव–पार्वतीको पूजा–आराधना गरी तीज पर्व मनाउने परम्परा रहिआएको हो।
तीजका अवसरमा महिलाहरू रातो सारी, चुरा, पोते, तिलहरीलगायतका परम्परागत पहिरन तथा गरगहनामा सजिएर शिवालय र विभिन्न धार्मिकस्थलमा पुग्ने गर्छन्। भगवान् शिवको पूजा–आराधना गर्दै जल तथा बेलपत्र अर्पण गर्ने र पारिवारिक सुख, शान्ति, समृद्धि तथा दाम्पत्य जीवनको सफलताको कामना गर्ने परम्परा छ। कतिपय महिलाले निराहार तथा कतिपयले फलाहार गरी व्रत बस्ने गर्छन्।
तीजको अर्को महत्वपूर्ण पक्ष यसको सांस्कृतिक स्वरूप हो। महिलाहरू सामूहिक रूपमा भेला भएर तीजका गीत गाउने, नाच्ने तथा आफ्ना सुख–दुःख र भावनाहरू एक–अर्कासँग साटासाट गर्ने गर्छन्। यसले आपसी सम्बन्धलाई प्रगाढ बनाउनुका साथै सामाजिक एकता र आत्मीयता अभिवृद्धिमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
विगतमा तीजका गीतमार्फत महिलाले भोगेका पीडा, पारिवारिक अवस्था, सामाजिक विभेद र आफ्ना भावना अभिव्यक्त गर्ने गरेका थिए। पछिल्लो समय भने तीज गीतको विषयवस्तु पनि व्यापक बन्दै गएको छ। महिला अधिकार, शिक्षा, स्वास्थ्य, आत्मनिर्भरता, सामाजिक समानता, रोजगारी तथा समसामयिक सामाजिक विषयहरू तीज गीतका माध्यमबाट उठान हुन थालेका छन्।
तीजले माइती र चेलीबीचको सम्बन्धलाई समेत अझ आत्मीय बनाउँदै आएको छ। विवाहित महिलाहरू माइतीघर जाने, आफन्त तथा साथीभाइसँग भेटघाट गर्ने र सामूहिक रूपमा दर खाने परम्पराले पारिवारिक तथा सामाजिक सम्बन्धमा आत्मीयता थप्ने गरेको पाइन्छ। पछिल्लो समय सामाजिक सञ्जालको प्रभावसँगै तीजका अवसरमा टिकटक तथा रिल्स् बनाउने र आफ्ना खुसी तथा सिर्जनात्मक गतिविधि प्रस्तुत गर्ने प्रवृत्तिसमेत बढेको छ।
यद्यपि, पछिल्ला वर्षहरूमा तीजका नाममा हुने अत्यधिक खर्च, भड्किलो प्रदर्शन तथा खानपानमा देखिएको अस्वस्थ प्रतिस्पर्धाप्रति आलोचना हुँदै आएको छ। पर्वको मौलिकता, सांस्कृतिक गरिमा र सामाजिक सन्देशलाई जोगाउँदै तीज मनाउनुपर्ने आवाज पनि उत्तिकै उठिरहेको छ।
यस वर्ष भने भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्र तथा भोटेकोशीलगायतका नदीमा आएको अप्रत्याशित बाढीबाट ठूलो जनधनको क्षति भएपछि तीजको उल्लासमा समेत त्यसको प्रभाव परेको छ। विगतका वर्षको तुलनामा यसपटक तीजका नाममा हुने भड्किलो प्रदर्शन र अनावश्यक खर्चमा कमी आएको देखिन्छ। बाढी तथा विपद्का कारण विभिन्न स्थानमा आयोजना गरिएका तीज विशेष कार्यक्रमसमेत स्थगित गरिएको पाइएको छ। विपद्का कारण पीडित परिवारप्रति सहानुभूति व्यक्त गर्दै कतिपय संघ–संस्था तथा समूहले तीजको खर्च कटौती गरी राहत तथा सहयोगमा जोड दिएका छन्।
हरितालिका तीज केवल व्रत र पूजामा सीमित पर्व होइन। यो नेपाली समाजको सांस्कृतिक पहिचान, नारी एकता, पारिवारिक आत्मीयता र सामाजिक सद्भावको महत्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै आएको पर्व हो। बदलिँदो सामाजिक परिवेशसँगै यसको मौलिकता र सांस्कृतिक गरिमा कायम राख्दै महिला सम्मान, समानता, आपसी सद्भाव र सकारात्मक सामाजिक चेतना अभिवृद्धि गर्ने अवसरका रूपमा तीजलाई मनाउनुपर्ने आवश्यकता देखिन्छ।





