
२२ भदौ २०८३, पोखरा ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति पोखरा फोटोग्राफर संघले गहिरो दुःख व्यक्त गर्दै दिवंगतप्रति श्रद्धाञ्जली तथा विपद्मा परेका परिवारप्रति ऐक्यबद्धता जनाएकोे छ ।संघले बाढीका कारण ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै विपद्बाट प्रभावित सम्पूर्णप्रति सहानुभूति र ऐक्यबद्धता प्रकट गर्दै दीप प्रज्वलन तथा शोकसभा आयोजना गरेको हो ।
कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरूका साथै संस्थापक, संरक्षक, पूर्वअध्यक्षहरु, , अक्षयकोषदाता, आजीवन तथा साधारण सदस्य, महिला उपसमितिका पूर्वसंयोजक र संघका शुभेच्छुकहरूको सहभागिता रहेको थियो । दीप प्रज्वलन तथा शोकसभा पोखरा महानगरपालिका–४ स्थित मानव अधिकार चोकमा आयोजना गरिएको थियो ।
भोटेकोशी नदीमा आएको बाढीले विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पु¥याएको घटनाले मुलुकभर गहिरो पीडा र चिन्ता उत्पन्न गरेको छ । प्राकृतिक विपत्तिका कारण आफ्ना आफन्त गुमाएका परिवार, घरबार तथा सम्पत्ति गुमाएका नागरिक र विस्थापित समुदाय अहिले कठिन परिस्थितिको सामना गरिरहेका छन्। यस्तो अवस्थामा पीडितको दुःखमा साथ दिनु र मानवीय संवेदना प्रकट गर्नु सबैको साझा दायित्व भएको संघकी नवनिर्वाचित अध्यक्ष नन्दकला पौडेलले बताईन ।
फोटोग्राफी पेशासँग आबद्ध भए पनि सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाका विषयमा विभिन्न गतिविधिमा सहभागी हुँदै आएको पोखरा फोटोग्राफर संघले यसपटक पनि विपद्मा ज्यान गुमाएकाहरूको सम्झनामा सामूहिक श्रद्धाञ्जली तथा प्रभावितप्रति ऐक्यबद्धता प्रकट गर्न कार्यक्रम आयोजना गरेको हो ।
संघले विपत्तिमा परेका नागरिकप्रति संवेदना व्यक्त गर्ने र राहत अभियानमा आफ्नो तर्फबाट योगदान गर्ने अवसरका रूपमा उपयोग गरेको जनाएको छ । प्राकृतिक विपत्तिका बेला समाजका विभिन्न क्षेत्र, संघसंस्था, व्यवसायी तथा नागरिक एकजुट भएर पीडितको साथमा उभिनुपर्ने आवश्यकता रहेको संघको भनाइ छ।
संघका सदस्यहरूबाट संकलन गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिने संघका कोषाध्यक्ष राजु प्रसाद तिमिल्सीनाले केन्द्रिय आवाजलाई जानाकारी गराए । संघका अनुसार विपत्तिमा परेका नागरिकको पीडामा साथ दिने उद्देश्यले गरिएको यो सहयोगको भावनात्मक तथा सामाजिक महत्व ठूलो रहेको बताए । सहयोग रकम आउने क्रम जारी रहेको बताउदै संकलन भएको रकम एक मुस्ट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिने छ ।





