
साउन १७, २०८३ , पोखरा
सामाजिक सद्भाव, राष्ट्रिय एकता तथा आपसी सहिष्णुताको सन्देश प्रवाह गर्ने उद्देश्यले स्याङ्जाको पुतलीबजारमा आइतबार बिहान शान्ति ¥याली आयोजना गरिएको छ।
पुतलीबजार नगरपालिका–१ स्थित रेडियोचोकबाट सुरु भएको ¥यालीको नेतृत्व लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय, रेडियो स्याङ्जा तथा स्याङ्जा टेलिभिजनका कोषाध्यक्ष चन्द्रमणि पौडेलले गरेका थिए। समाजमा शान्ति, सद्भाव, पारस्परिक सम्मान र राष्ट्रिय एकताको भावना सुदृढ बनाउने उद्देश्यका साथ ¥याली आयोजना गरिएको आयोजकले जनाएको छ।
करीब २०० जनाको सहभागिता रहेको ¥यालीमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, धार्मिक समुदाय, व्यावसायिक संघ–संस्था, सञ्चारकर्मी, नागरिक समाजका अगुवा तथा सर्वसाधारण नागरिकको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले सामाजिक सद्भाव कायम राख्दै राष्ट्रिय एकताको पक्षमा ऐक्यबद्धता व्यक्त गरेका थिए।
बिहान ८ः३० बजे रेडियोचोकबाट सुरु भएको ¥याली हुलाकमार्ग, चौकीबजार र बैंक रोड हुँदै नगरका विभिन्न क्षेत्रको परिक्रमा गर्दै बिहान ९ः०० बजे सहिदचोकमा पुगेर समापन भएको थियो।
कार्यक्रम शान्तिपूर्ण, सभ्य र व्यवस्थित वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ। आयोजकका अनुसार यस्ता अभियानले समाजमा पारस्परिक विश्वास, सहिष्णुता र राष्ट्रिय एकताको भावनालाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।






