रामघाटमा प्रस्तावित गीता मन्दिर धर्मशालाको शिलान्यास

-


     तुलसी राम सुवेदी    
     भाद्र २४ गते २०८३ मा प्रकाशित


धार्मिक तथा आध्यात्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा

पोखरा, २४ भदौ ।

पोखरा महानगरपालिका ११ रामघाटमा प्रस्तावित ‘गीता मन्दिर धर्मशाला निर्माण योजनाको बुधबार वैदिक विधिपूर्वक शिलान्यास गरिएको छ। पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले पूजाआजा तथा वैदिक विधिअनुसार धर्मशाला निर्माण स्थलमा शिलान्यास गर्नुभएको हो।

श्री गीता अध्ययन मण्डल, सनातन धर्म सेवा आश्रम एवं गीता मन्दिर व्यवस्थापन समितिको आयोजनामा बिहान ८ः३० बजे आयोजित शिलान्यास समारोहमा धार्मिक तथा सामाजिक व्यक्तित्व, स्थानीयवासी, समाजसेवी र सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

समारोहलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरालाई प्राकृतिक सुन्दरतासँगै धार्मिक तथा आध्यात्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न यस्ता धार्मिक पूर्वाधारको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। सनातन धर्म, संस्कृति र परम्पराको संरक्षणसँगै आन्तरिक तथा बाह्य धार्मिक पर्यटकलाई सेवा पुर्‍याउने उद्देश्यले निर्माण हुन लागेको धर्मशालाले धार्मिक पर्यटनको विकासमा योगदान पुर्‍याउने उहाँको भनाइ थियो।

उपप्रमुख गुरुङले धर्मशाला निर्माणका लागि महानगरपालिकाको तर्फबाट आवश्यक सहयोग, सहकार्य र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्दै पोखराको धार्मिक पर्यटनलाई थप व्यवस्थित र आकर्षक बनाउन स्थानीय समुदाय तथा धार्मिक संघसंस्थासँग सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो।

कार्यक्रमका अध्यक्ष एवं गीता मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डा. प्रेमकुमार उलकले प्रस्तावित आश्रम तथा धर्मशालाले रामघाट क्षेत्रमा धार्मिक वातावरण निर्माण गर्नुका साथै टाढाटाढाबाट आउने भक्तजन, साधक तथा तीर्थयात्रीलाई सहज आवासको सुविधा उपलब्ध गराउने बताउनुभयो। धर्मशालाले धार्मिक अध्ययन, साधना र आध्यात्मिक गतिविधिका लागि समेत उपयुक्त वातावरण निर्माण गर्ने उहाँको भनाइ थियो।

उहाँले निर्माण कार्यलाई व्यवस्थित, गुणस्तरीय र समयमै सम्पन्न गर्न समाजसेवी, धार्मिक संघसंस्था, व्यवसायी तथा स्थानीय समुदायको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो। निर्माण अभियानलाई साझा धार्मिक तथा सामाजिक अभियानका रूपमा अघि बढाउन सबै पक्षलाई सहयोगका लागि उहाँले आग्रह गर्नुभयो।

शिलान्यास समारोहमा सामाजिक तथा धार्मिक व्यक्तित्वहरू उर्मिला बस्नेत, रविन्द्र माकाजु, निर्मल कर्माचार्य, कृष्णप्रसाद बास्तोला, पण्डित लीलाधर पौडेल, पोखरा महानगरपालिका–११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य तथा पोखरा महानगरपालिकाका कार्यकारी प्रमुख राजन पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

वक्ताहरूले धर्मशाला केवल नामका लागि धर्मशाला नभई यसको वास्तविक उद्देश्यअनुसार धार्मिक, सामाजिक र मानवीय सेवाको केन्द्रका रूपमा विकास हुनुपर्नेमा जोड दिएका थिए। टाढाबाट आउने भक्तजन, तीर्थयात्री तथा साधकलाई सहज र सुलभ आवासको व्यवस्था गर्नुका साथै धार्मिक अध्ययन, संस्कार र सेवामूलक गतिविधिको केन्द्र बनाउनुपर्ने उनीहरूको धारणा थियो।

समितिका अध्यक्ष डा.प्रेमकुमार उलकको सभापतित्वमा सचालित कार्यक्रममा संस्थाका उपाध्यक्ष बजिरमान श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव शिवप्रसाद गौतमले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

रामघाट क्षेत्रमा निर्माण हुन लागेको गीता मन्दिर धर्मशालाले धार्मिक गतिविधि, आध्यात्मिक साधना तथा तीर्थयात्रीको आवागमनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। निर्माण अभियानलाई सफल बनाउन पोखरावासी, धार्मिक संघसंस्था, समाजसेवी, दातालगायत सम्पूर्ण शुभेच्छुकबाट सहयोगको अपेक्षा गरिएको आयोजकले जनाएको छ।