गीताञ्जलीको २७० औं साधना प्रभात कार्यक्रम सम्पन्न

-


     तुलसी राम सुवेदी    
     असार ७ गते २०८२ मा प्रकाशित


असार ७, पोखरा ।
पोखराको अग्रणी साहित्यिक संस्था गीताञ्जली साहित्य परिवारले आफ्नो २७० औं “साधना प्रभात तथा नियमित रचना वाचन कार्यक्रम” सफलता साथ सम्पन्न गरेको छ । कार्यक्रम संस्थाको आफ्नै सभाकक्ष, रामघाटस्थित गीतामन्दिर परिसरमा आयोजना गरिएको थियो।
संस्थाले प्रत्येक महिनाको पहिलो शनिबार साहित्य साधना र रचना वाचन कार्यक्रम गर्दै आएको छ, जसमा अग्रजदेखि अनुज पुस्ताका पोखरेली साहित्यकारहरूको सशक्त उपस्थिति रहँदै आएको छ ।
यस अवसरमा पोखरा साहित्य प्रतिष्ठानका पूर्व कुलपति पदमराज ढकालसहित २३ जना नवोदित, बाल तथा वरिष्ठ साहित्यकारहरूले आफ्ना सिर्जना वाचन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिका रूपमा डा. खरिका पराजुली तथा प्रभात नायकका रूपमा स. प्रा. अम्बिका प्रसाद भट्टराईको विशेष उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष भानुभक्त भण्डारी ‘क्षितिज’ को अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो भने सञ्चालन सचिव नरेन्द्र रानाभाट ले गर्नुभएको थियो। स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष धर्मराज पौडेल ‘अल्पायु’ द्वारा प्रस्तुत गरिएको थियो।
कार्यक्रमकै क्रममा वरिष्ठ उपाध्यक्ष धर्मराज पौडेल ’अल्पायु’ द्वारा लिखित कृति “न घाम न जून” सार्वजनिक गरिनुको साथै सहभागी साहित्यकारहरूबीच वितरण पनि गरिएको थियो।
गीताञ्जली साहित्य परिवारले निरन्तर गर्दै आएको यस्तो रचनात्मक यात्राले पोखराको साहित्यिक वातावरणलाई अझ समृद्ध बनाउँदै लगिरहेको छ।