
बैशाख २१ पोखरा
कास्कीका साहित्यकार छविलाल आचार्यको यात्रा संस्मरण ‘मध्यरातमा सूर्य देख्दा’ पुस्तकको लोकार्पण सम्पन्न भएको छ । गण्डकी साहित्य सङ्गम, पोखराको आयोजनामा शनिबार एक कार्यक्रमका बिच सो कृतिको लोकार्पण गरिएकोे हो । प्राज्ञ हरिदेवी कोइरालाको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । प्रा. रघुनाथ अधिकारी विशिष्ट अतिथि रहेका थिए ।
कार्यक्रममा टिप्पणीकार द्धय रामराज रेग्मी र असफल गौतमले आचार्यको कृतिले युरोपका विभिन्न देशहरू , स्विट्जरल्यान्ड, नर्वे, बेलायत, फ्रान्स लगायत को सांस्कृतिक अवस्था, प्राकृतिक सौन्दर्य, भौगोलिक बनावट, सङ्ग्रहालयका कलाकृति, जातजातिहरूको रहनसहन र ऐतिहासिक दरबारहरूको जीवन्त चित्रण गरेको उल्लेख गर्दे पुस्तक सर्वसाधारण पाठकका लागि उपयोगी रहेको समेत बताए ।
कार्यक्रममा झलकपाणि तिवारी, तोयानाथ लामिछाने र यादवचन्द्र भुर्तेल लगायले शुभकामना मन्तव्य दिँदै युरोप भ्रमणका क्रममा आचार्यले देखेका र भोगेका अनुभवहरूको यथार्थपरक चित्रणले पुस्तकलाई विशेष बनाएको उल्लेख गरे ।
कार्यक्रममा सङ्गम सांस्कृतिक मञ्चका कलाकारहरू काजी गाउँले, विकास लुङ्गेली, डी.बि. बान्तवा लगायतले आचार्यद्वारा रचित गीत प्रस्तुत गरेका थिए भने साहित्यकार गोविन्दप्रसाद बरालले कविता वाचन गरेका थिए ।
कार्यक्रममा प्रा.डा. यदुनन्दन उपाध्याय, प्रा.डा. यमबहादुर पौडेल क्षेत्री, प्रा.डा. जगन्नाथ रेग्मी लगायतका साहित्यकार र शुभचिन्तकहरूको उपस्थिति रहेको थियो ।
ताराप्रसाद तिमिल्सिनाले श्रष्टाको परिचय गराएका थिए । कृतिका रचनाकार छविलाल आचार्यले आफ्नो युरोप बसाइको सुखद अनुभव सुनाएका थिए । संस्थाका अध्यक्ष भीम रानाभाटको सभापतीत्वमा आयोजित कार्यक्रमको संचालन सचिव प्राज्ञ नारायण मरासिनीले गरेका थिए भने उपाध्यक्ष पद्मराज ढकालले स्वागत मन्तव्य राखेका थिए ।




