
कार्तिक १५, पोखरा
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व सम्पन्न गरिएको छ । लिपपोत गरिएको सफा घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता अनुसार आज बिहानै घर गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी सफा सुग्घर र दीपावली गरेर लक्ष्मीको आराधना गरि आमन्त्रण गर्ने गरिन्छ ।
आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भ¥याङलगायतका स्थानमा सरसफाइ गरी सांझ दीपावली गरिन्छ ।
त्यसैगरी नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा–मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाईएको छ ।
कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।






