विपदमा परी हालसम्म एक सय ७० जनाको मृत्यु

-


     केन्द्रीय आवाज    
     श्रावण २५ गते २०८१ मा प्रकाशित


अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी आज दिउँसोसम्म एक सय ७० जनाको मृत्यु भएको जनाईएको छ ।
काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेस प्रदेशमा छ, बागमती प्रदेशमा ३१, गण्डकी प्रदेशमा ५४, लुम्बिनी प्रदेशमा ३३, कर्णाली प्रदेशमा आठ र सुदूरपश्चिम प्रदेशमा १० गरी जम्मा एक सय ७० जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
विपदमा परी हालसम्म दुई सय तीन जना घाइते भएका छन् । काठमाडौँ उपत्यकामा ११, कोशी प्रदेशमा ३७, मधेस प्रदेशमा १०, बागमती प्रदेशमा १९, गण्डकी प्रदेशमा ४६, लुम्बिनी प्रदेशमा १३, कर्णाली प्रदेशमा ५३ र सुदूरपश्चिम प्रदेशमा १४ जना घाइते भएका हुन् ।
बाढीपहिरामा परी कोशी प्रदेशमा दुई, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ४८ जना बेपत्ता छन् । बेपत्ताको खोजी जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।