
असार २८ पोखरा
कास्कीमा अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १९ मा ७, पोखरा–३२ मा ३ र मादी गाउँपालिका वडा नं. ११ मा १ जनाको मृत्यु भएको जनाईएको छ ।
पोखरा १९ को तल्लाकोट टारी भन्ने स्थानमा गए राति १०ः२० बजे घर पछाडिबाट आएको पहिरोले कुलबहादुर परियारको १ तले कच्ची घर पुरिँदा एकै परिवारका ६ जना र उद्धार गर्न गएकी १ महिलाको ज्यान गएको हो । मृत्यु हुनेमा घरधनी ४६ वर्षीय कुलबहादुर परियार, उनकी श्रीमती ४३ वर्षीया मनकुमारी परियार, कुलबहादुरकी आमा ८५ वर्षीया लक्षीमा परियार, छोरी १५ वर्षीया प्रशना परियार छन् ।
यसैगरी कुलबहादुरकी विवाहिता छोरी २० वर्षीया प्रभा परियार, ज्वाइँ २५ वर्षीय अस्मित परियारको पनि सोही घटनामा मृत्यु भएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । साथै घटना लगत्तै उद्धार गर्न गएकी छिमेकी ५६ वर्षीया राधिका परियारको लडेर मृत्यु भएको डीएसपी शर्माले जानकारी दिए ।
सो घटनामा राधिकाका छोरा ३१ वर्षीय कुमार परियार र कुलबहादुरका छोरा १७ वर्षीय पवन परियार घाइते भएका छन् । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।
त्यसै गरि पोखरा महानगरपालिका वडा नं ३२ को चैतपुर बाह्रबिसेमा शुक्रबार बिहान २ः१५ बजे पहिरो गएको र सो पहिरोमा पुरिँदा ३ जनाको ज्यान गएको छ । स्थानीय आरती ओझाको टिनले छाएको १ तले घर पछाडिबाट आएको पहिरोले पुरिँदा उनकी २ छोरीसहित ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा १८ वर्षीया अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र दाइको छोरा ९ वर्षीय प्रतिक सुवेदी छन् । सो घटनामा घरधनी ४० वर्षीया आरती घाइते भएको र उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यसै गरि कास्कीको मादी गाउँपालिका वडा नं. ११ तल्लो पात्लेमा पहिरोले घर पुरिँदा १ वृद्धाको ज्यान गएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ८० बर्षीया माइतीकुमारी गुरुङ छन् ।
अविरल वर्षासँगै शुक्रबार बिहान १ बजे घर माथिबाट आएको पहिरोले १ तले कच्ची घर पुरिँदा सो घटना भएको डीएसपी शर्माले जानकारी दिए ।
सो घटनामा परेका ५५ वर्षीय ओमबहादुर गुरुङको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले ओमबहादुरको उद्धार गरेको जनाईएको छ ।






