
असार २२ पोखरा
वर्षा जारी ः कतै डुवान, पहिरोले कुन–कुन सडक अवरुद्ध छ ?
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ ।
जसको प्रभावले गण्डकी प्रदेशको राजधानी पोखरामा भारी वर्षा भइरहेको छ । केही दिनदेखि निरन्तर वर्षा भइरहेको पोखरामा गए रातिदेखि भारी वर्षा भइरहेको छ । वर्षा शनिबार पनि जारी छ ।
निरन्तर बर्षाका कारण पोखराको बिच भागबाट बग्ने सेती नदीको बहावट समेत बढ्दै आईरहेको छ भने सेती नदिका किनारका अब्यवस्थीत बस्तीहरुमा डुवान हुने संकेत देखिएको छ । रामघाट स्थित सेती नदी ताल बन्दै गईरहेको छ ।
त्यसैगरि सिद्धार्थ राजमार्गका बिभिन्न स्थानमा पहिरो जांदा राजमार्ग नै प्रभावित बनेको छ भने काली गण्डकी करिडोर समेत पहिरोका कारण अबरुद्ध बनेको छ ।
आज शनिबार देशभर साधारणतयादेखि पूर्णतया बदली रहने र सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गण्डकी, कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको पनि सम्भावना छ ।
भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
स्याङ्जा

अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको छ ।
बिहीबार रातिदेखि निरन्तर आइरहेको पानीले सुनौली-पोखरा जोड्ने सिद्धार्थ राजमार्गको ठाउँ ठाउँमा पहिरो गएको छ ।
स्याङ्जा-वालिङ सडकको भीरकोट-४ छाङ्छाङ्दी नजिक आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।
स्याङ्जा जिल्लामा भारी वर्षा भइरहेको छ । वर्षाले सिद्धार्थ राजमार्गको वालिङ-१ कालीमाटीमा पनि सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध भएको छ । वर्षा निरन्तर भइरहेकाले सडक पुनः सञ्चालन गर्न कठिनाइ भइरहेको छ ।
सिद्धार्थ राजमार्गका केही ठाउँमा पहिरो हटाएर एकतर्फी यातायात सञ्चालन गरिए पनि धेरै ठाउँमा पहिरो गएकाले पूर्णरुपमा सञ्चालनमा आउन समय लाग्ने भएको छ । सिद्धार्थ राजमार्गसँगै ग्रामीण क्षेत्रका अन्य सडक पनि पहिरोले अवरुद्ध छन् । यात्रु बीच बाटोमै रोकिएका छन् ।
मालढुंगा–बेनी सडक अवरुद्ध ः सवारीसाधन खनियाघाट र मालढुंगामै रोकिए
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी कोरिडोर आयोजनाअन्तर्गत पर्वतको मालढुंगा–बेनी सडक अवरुद्ध भएको छ ।
भारी वर्षाका कारण कुश्मा नगरपालिका वडा नं.१ मालढुंगा नजिक भिरबाट ढिस्कोसहित पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।
पर्वतका ट्राफिक प्रहरी प्रमुख सिताराम ओझाका अनुसार आज बिहानदेखि सडक अवरुद्ध बनेको हो ।
सडक अवरुद्ध भएपछि म्याग्दी र मुस्ताङदेखि छुटेका सवारीसाधन खनियाघाटमा थन्किएका छन् ।
अन्यत्रबाट आएका सवारीसाधन मालढुंगामा रोकिएका छन् ।
कालीगण्डकी करिडोरको बागलुङ–पर्वत खण्ड
दुई दिनदेखिको निरन्तर वर्षाका कारण उक्त करिडोरको बागलुङ र पर्वत खण्डमा सडक अवरुद्ध भएको हो ।
बागलुङको जैमिनी नगरपालिका–बिनामारे क्षेत्रमा पहिरो झर्दा कोरिडोर अवरुद्ध भएको छ ।
कोरिडोर अवरुद्ध हुँदा जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायतका स्थानदेखि जिल्ला सदरमुकाम बागलुङ बजार आउने सावारीसाधान बाटोमै ठप्प रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए । भारी वर्षाका कारण सडक खुलाउने कार्यमा बाधा पुगेको छ । “लगातार वर्षा भइरहेकाले पहिरो झर्ने क्रम रोकिएको छैन”, प्रहरी नायव उपरीक्षक यादवले भने ।
बेँसीसहर–चामे सडक अवरुद्ध
पहिरोले बेसीँसहर–चामे सडक अवरुद्ध भएको छ । यस सडकअन्तर्गत लमजुङ जिल्ला मर्स्याङ्दी गाउँपालिका–४ हावाडाँडा सडक माथिबाट आज बिहान पहिरो आउँदा पूर्णरुपमा सडक अवरुद्ध भएको डुम्रे–बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी किरण पोखरेलले सो ठाउँमा ठूलो पहिरो आएको र पहिरो हटाउन समस्या भइरहेको बताए। पहिरोले सडक अवरुद्ध भएपछि सवारीसाधन बाटोमै थन्किएका छन् ।
चामे गाउँपालिका–१ तिमाङ खोलामा गत मङ्गलबार आएको बाढीले काठेपुल र मोटरेवल पुल बगाएपछि हालसम्म सडक सञ्चालनमा आउन नसकेको सूचना अधिकारी पोखरेलले बताए ।
विपी राजमार्गमा यातायात ठप्प
पहिरोले विपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका–२ कमिरेफाँटमा पहिरोले सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार राजमार्ग माथिबाट पहिरोसहित बगेर आएको लेदोले आज बिहानैदेखि यातायात सेवा ठप्प छ ।
राजमार्ग अवरुद्ध हुँदा बिहानैदेखि सयौँ सवारीसाधन बाटोमै रोकिएका छन् । यात्रु अलपत्र परेका छन् ।
वर्षा निरन्तर भइरहेकाले अवरुद्ध राजमार्ग खुलाउन समस्या भएको छ । डोजरको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए ।
यसैबीच मध्यमहाडी राजमार्गअन्र्तगत रहेको गोलञ्जोर गाउँपालिका–६ अकरेभिर र फिक्कल गाउँपालिका–२ सुनामबेँसीमा पनि पहिरोसहित बगेर आएको लेदोले बिहानैदेखि सडक अवरुद्ध भएको थियो ।
अहिले सो क्षेत्रमा पहिरो पन्छाएर यातायात सेवा सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

हेटौँडा–काठमाडौँ सडकखण्डमा पहिरो
बिहानैदेखि परेको वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी–दक्षिणकाली सडकखण्ड अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर–२ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ठूलो पहिरो गएकाले तत्काल बाटो खुलाउन सकिने अवस्था छैन । प्रहरीले सिस्नेरी हुँदै काठमाडौँ जाने बाटो अवरुद्ध बनेकाले अन्य बाटो प्रयोग गर्न आग्रह गरेको छ ।
यस्तै भीमफेदी–फाखेलतर्फको सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ । इन्द्रसरोवर–५ महालक्ष्मी खोलामा पहिरो गएका कारण भीमफेदी–फाखेल–मातातीर्थ सडकखण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।
यसैगरी कान्ति राजपथको ललितपुर खण्डमा पहिरो गएका कारण आज बिहानैदेखि सडक अवरुद्ध छ । ललितपुरको बागमती गाउँपालिका–३ पाङजुरे (भट्टेडाँडा नजिक) मा पनि पहिरो गएको छ ।
पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । त्रिभुवन राजपथ, हेटौँडा–फापरबारी–सिन्धुली खण्ड र पूर्वपश्चिम राजमार्गमा भने यातायात सेवा सञ्चालनमा छ ।
घोराही–तुलसीपुर सडक सडक अबरुद्ध
दाङको घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत सेवारखोलामा बनाएको डाइभर्सन बगेको छ । बाढीले आज बिहान उक्त डाइभर्सन बगाएको हो ।
सो ठाउँमा असहले आवतजावत ठप्प छ । जिल्ला प्रशासन कार्यालय दाङले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । घोराही उपमहानगरपालिका–१६ सेवारखोलामा चार लेनको पक्की पुल अधुरै छ ।
कर्णाली राजमार्ग अवरुद्व
शुक्रबारदेखि परेको वर्षाका कारण पहिरो खसेर कर्णाली राजमार्गको कालिकोट सडकखण्ड अवरुद्ध भएको छ । कालिकोटको हुल्म बजारलगायत ठाउँमा पहिरोले सडक अवरुद्ध छ ।
सडक अवरुद्ध हुँदा सुर्खेत–जुम्लाका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका छन् । सडक खुलाउने प्रयास भइरहेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी बीरबहादुर ओलीले जानकारी दिए ।
विभिन्न ठाउँ डुबानमा
गए रातिदेखि लगातार परेको वर्षाले पर्साको वीरगन्ज महानगरपालिकाका विभिन्न वडा डुबानमा परेका छन् । महानगरपालिकाको छपकैया, बजारछपकैया, घडिअर्वा, रानीघाट, श्रीपुर, नगवा, राधेमाईलगायत ठाउँ डुबानमा परेका छन् ।
पानी सडकमै जम्मा भएर स्थानीयको घर भित्र पस्न थालेको छ । जमेको पानीलाई निकास दिन बिहानैदेखि उपकरण तथा कर्मचारी परिचान गरिएको वीरगन्ज महानगरपालिकाको सरसफाई शाखाका प्रमुख सरफुद्दिन मियाले जानकारी दिए । डुबान भएका क्षेत्रमा नाला सफा गर्ने काम भइरहेको छ ।
वर्षा भएपछि यहाँका किसान खुसी भएका छन् । पानी परेपछि रोपाइँ गर्न पाइने आशले उनीहरु खुसी भएका हुन् । पर्सामा कुल ५४ हजार पाँच सय हेक्टर खेतियोग्य जग्गा रहेको छ । यसमध्ये ४७ हजार हेक्टरमा धान खेती हुने गरेको छ ।





