नेपालको व्यापार घाटा १० महिनामा ११ खर्ब ७७ अर्ब

-


     केन्द्रीय आवाज    
     जेठ ८ गते २०८१ मा प्रकाशित


८ जेठ काठमाडौं
चालू आर्थिक वर्ष २०८०÷८१ को १० महिनामा नेपालको वैदेशिक व्यापारमा २.५० प्रतिशतले कमीसँगै ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख ९१ हजार रुपैयाँबराबरको व्यापार घाटा भएको छ ।
भन्सार विभागका अनुसार गत साउनदेखि वैशाखसम्मको १० महिनाको अन्तरालमा आयातमा २.३९ प्रतिशतले कमी आएको छ । यसैगरी, ३.६१ प्रतिशतले निर्यातमा गिरावट भएको छ ।

वैशाख मसान्तसम्ममा १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख ३९ हजार रुपैयाँबराबरको वस्तु आयात भएको भन्सार विभागले जनाएको छ । यसबीचमा कुल १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख ४८ हजार रुपैयाँबराबरको निर्यात भएको छ । १० महिनामा कुल १४ खर्ब २९ अर्ब ५३ करोड ५ लाखबराबरको वैदेशिक व्यापार भएको छ । यो गत आवको १० महिनाको तुलनामा अढाई प्रतिशतले कम हो ।

सधै ंझैं गत साउन देखि वैशाख सम्ममा भारतसँग अधिक व्यापार घाटा रहेको छ । भारतसँग नेपालको व्यापार घाटा ७ खर्ब २९ अर्ब ७० करोड ५७ लाख रुपैयाँबराबरको रहेको छ । भारतबाट ८ खर्ब १५ अर्ब ७२ करोडको आयात र ८६ अर्बको निर्यात भएको छ । चीनसँग पनि नेपालको व्यापार घाटा २ खर्ब ३८ अर्ब ५५ करोडबराबर रहेको छ । १० महिनामा चीनसँग २ खर्ब ४० अर्ब ८३ करोड ७७ लाख रुपैयाँबराबरको आयात हुँदा २२ अर्ब ७४ करोडबराबरको निर्यात भएको छ । चीनसँग मात्र २ खर्ब ३८ अर्ब ५५ करोड ७७ लाख रुपैयाँको व्यापार घाटा रहेको छ ।

व्यापार घाटा भएका मुलुकमा क्रमशः यूएई, युक्रेन, मलेसिया, अस्ट्रेलिया, फ्रान्स, अर्जेन्टिना, इन्डोनेसिया, थाइल्यान्ड, क्यानडा, साउदी अरेबिया, कोरिया, थाइवान, ओमान, सिंगापुर, भियतनाम, जापान, यूके रहेका छन् । व्यापार फाइदा भएका मुलुकहरूमा क्रमशः डेनमार्क, अफगानिस्तान, नर्वे, सुडान, मौरिसेनिया, ल्याटभिया, न्यू क्यालेडोनिया, माल्दिभ्स, आइसल्यान्ड, मौरिसस, फिजी, क्रोएसिया, माल्टा, जर्जिया, लगायतका रहेका छन् । यो समाचार राजधानी दैनिकबाट साभार गरिएको हो ।