बर्षा लागे संगै फेवाताल सरसफाइ अभियानको बर्षा लागे संगै फेवाताल सरसफाइ अभियान शुरु ।

-


     तुलसी राम सुवेदी    
     वैशाख ३१ गते २०८१ मा प्रकाशित


बैशाख ३१ पोखरा
बर्षादको समय सुरु हुनलागे संगै फेवातालमा बढ्दै गएको जलकुम्भी झारका नियन्त्रणका लागि सरसफाइ अभियान शुरु गरिएको छ ।
आईतवार वातावरण संरक्षणका लागि महाअभियान कास्कीको आयोजनामा ‘वातावरण एवं सम्पदा संरक्षणमा नागरिक खबरदारी’ को नारासहित अभियान सुरु गरिएको हो ।
पोखरा महानगरपालिका–१८ खपौदी ढल्केबरबाट डुङ्गा तथा अन्य साधनको मद्दतमा ताललाई ढाकेको जलकुम्भी झार बाहिर निकाल्न सुरु गरिएको छ ।
वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक एवं नागरिक अभियन्ता रामबहादुर पौडेलले अभियान कम्तीमा दुई साता निरन्तर चल्ने जनाए ।
सरसफाई अभियानमा नेपाली सेना, सशस्त्र प्रहरीबल, सफाइ अभियन्ता र स्थानीय वासी समेतकोे सहभागिता रहेको थियो ।
अभियानको सशस्त्र प्रहरी गण मालेपाटन (कालिका गण) का प्रमुख एवं प्रहरी उपरीक्षक अरुण शर्माले शुभारम्भ गरेका थिए ।
पर्यटकीय शहर पोखराको शान्ति सुरक्षा मा मात्र नभई यहाको सौन्दर्यताको लागि पनि सशस्त्र प्रहरी वल सधै जनताको साथमा रहेको शर्माले बताए ।
विशेषगरी बर्खायाममा जलकुम्भीले ढाक्दा ताल कुरुप हुँदै आएको बताएदै यसपटक स्रोतबाट नै जलकुम्भी हटाउने गरी काम थालनी गरिएको संयोजक पौडेलले बताए ।
अभियानअन्तर्गत सोमबारदेखि दैनिक ४० जनाका दरले जलारी समुदायले ज्यालासहित जलकुम्भी सरसफाइ अभियानलाई निरन्तरता दिने पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले जानकारी दिए ।
पोखरा महानगरपालिकाको सहयोगमा ‘एक जलारी घर एक रोजगारी’ कार्यक्रमअन्तर्गत अभियान सञ्चालन गरिएको हो ।
उनीहरुले दुई हप्तासम्म बिहान ८ देखि दिउँसो ३ बजेसम्म तालको सरसफाइ गर्नेछन् भने अन्यले समेत स्वयंसेवी रुपमा सहभागिता जनाउन सक्ने बताइन्छ । हरेक वर्ष चैतमा हुने जलकुम्भी हटाउने कार्यक्रम यस पटक विविध कारणले ढिला हुन गएको बताइन्छ ।