
बैशाख ३०,पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशका कला र साहित्यलाई विश्वभर फैलाउन प्रचारप्रसारमा लाग्नुपर्ने बताएका छन् ।
गण्डकी प्रज्ञा प्रतिष्ठान पोखराको तेस्रो स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले त्यस्तो बताएका हुन् ।
उनले देशमा ख्याति प्राप्त लेखनाथ पौडेल, भानुभक्त आचार्य, माधव घिमिरे जस्ता स्रष्टाहरु यसै क्षेत्रमा जन्मीएको हुंदा, गण्डकी प्रदेश कला, साहित्यमा निकै धनी रहेको समेत बताए ।
साथै मुख्यमन्त्री अधिकारीले लोक संस्कृतिमा समेत धनी मानिएको गण्डकी प्रदेशलाई कला र साहित्यमा अगाडि बढाउँदै विश्वभर फैलाउन जरुरी रहेको बताए । साथै उनले पर्यटनको राजधानी पोखरामा यस क्षेत्रको कला, संस्कृति, भेषभूषा र नेपाली भाषाको विकास गर्न जरुरी रहेको कुरा औल्याए ।
पर्यटकीय राजधानी पोखरामा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याएर यहाँको कला र संस्कृतिका बारेमा जानकारी र प्रचारप्रसार गर्न आवश्यक रहेकामा उनले जोड दिए ।
त्यसअवसरमा कला, साहित्य र सांस्कृतिक क्षेत्रमा योगदान पुर्याएको स्रष्टालाई नगद सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा साहित्यतर्फ सरस्वती प्रतीक्षा, भूपेन्द्र खड्का, कलातर्फ गोपाल श्रेष्ठ, छिरिङफोन्जो गुरुङ, संस्कृतितर्फ खगराज शर्मा, लोकदोहोरीतर्फ पुरुषोत्तम न्यौपाने र नृत्यतर्फ रवीन गुरुङलाई मुख्यमन्त्री अधिकारीले सम्मान गरेका थिए ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘विखर्ची’को अध्यक्षतामा भएको कार्यक्रममा उपकुलपति गोरे गुरुङले स्वागत मन्तव्य व्यक्त गरे ।




