
पौष ८
पोखरा नागढुंगा स्थित चरक अस्पतालको सम्पूर्ण चिकित्सकीय तथा प्राविधिक सहयोगमा लायन्स क्लब अफ पोखरा अभियानले म्याग्दीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्यो ।
बेनी नगरपालिका वडा नं. घतान नेप्टेचौर स्थित राष्ट्रिय मावि प्राङ्गणमा भएको स्वास्थ्य शिविरबाट ६५० जना भन्दा बढी लाभान्वित भएका छन् ।
लायन ईन्टरनेशनल ३२५ आई नेपालका डिस्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीको प्रमुख आतिथ्यतामा भएको शिविरमा आवश्यकलाई औषधि वितरणसमेत गरिएको थियो ।
शिविरमा मुटु जाँच, मिर्गौला जाँच, उच्च रक्तचाप तथा मधुमेह जाँच, महिला सम्बन्धी रोगका जाँचहरु गरिएको चरकका पिआरओ सोबित सुवेदीले जानकारी दिए । डा. प्रदीप काफ्ले, डा. सस्मी मानन्धर, डा. सन्देशप्रकाश पराजुली, गोपाल खनाल लगायतका स्वाथ्यकर्मीहरु स्वास्थ्य जाँचमा सहभागी थिए ।
चरक मेमोरियल अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेकाले अस्पतालले यस खालका शिविर सञ्चालन गर्दै आएको बताए । उनले गाउँमै अस्पताल नहुँदा विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त रहेका स्थानीयवासीले स्वास्थ्य परीक्षण तथा औषधि निःशुल्क रुपमा प्राप्त गर्दा धेरैले राहतको अनुभव गरेको बताउँदै यस किसिमका शिविर सञ्चालन गर्ने योजना सुनाए।
चरक अस्पतालले हालै गोरखामा पनि स्वास्थ्य शिविरमा सम्पूर्ण प्राविधिक सहयोग गरेको थियो । लायन्स क्लब अफ पोखरा अभियानका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य संयोजक बलबहादुर केसी तथा सञ्चालन विनोदराज आचार्यले गरेका थिए ।





