
पोखरा, मङ्सिर १३ गते
माध्यमिक विद्यालय शैक्षिक कल्याणकारी कोष, कास्कीको अध्यक्षमा जनार्दन सुवेदी चुनिएका छन् ।
आइतवार पोखरामा सम्पन्न १४ औँ साधारण सभा तथा पाँचौँ अधिवेशनबाट सुवेदीको अध्यक्षतामा ८ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा शेखरनाथ शर्मा, सचिवमा मणिराज परियार, कोषाध्यक्षमा माया थापा, सहसचिवमा गुरुदत्त कोइराला र सदस्यहरूमा फणिन्द्रराज सुवेदी, दुर्गाबहादुर रावत र गोपाल सापकोटा रहेका छन् । जगन्नाथ अधिकारीको संयोजकत्वमा रमेश भट्टराई र बोधराज पौडेल सदस्य रहेको तीन सदस्यीय निर्वाचन मण्डलले नयाँ समिति घोषणा गरेको थियो ।
कोषका अध्यक्ष शम्भुराज बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास महाशाखा, गण्डकी प्रदेश, पोखराका प्रमुख घनश्याम पौडेलले कोषले गरेका गतिविधिहरूबाट सामुदायिक विद्यालयको एकता झल्कने स्पष्ट पारे । पौडेलले विगतका टेस्ट परीक्षा हट्दै गएको अवस्थामा कोषले जिल्लाभर एकरूपता कायम गरी कक्षा १० को एसइई पूर्वतयारी परीक्षा र कक्षा ११ को संयुक्त परीक्षा सञ्चालन गर्नु अत्यन्तै सराहनीय काम भएको बताए । पाठ्यक्रम र विशिष्टीकरण तालिकाअनुसारका प्रश्नपत्र तयार गरेर विद्यार्थीमा अध्ययन गर्ने बानी बसाल्न संस्थाले महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो । प्रमुख अतिथि पौडेलले गण्डकी प्रदेश सरकारले शिक्षा क्षेत्रमा राम्रो लगानी गरिरहेको बताउँदै प्रदेशका विभिन्न शैक्षिक कार्यक्रमहरूमा पहुँच पु¥याउन र लाभ लिन विद्यालय तथा संस्थालाई आग्रहसमेत गरे ।
संस्थाका सचिव मनिराम कडेलको सञ्चालनमा भएको उद्घाट सत्रमा उपाध्यक्ष जनार्दन सुवेदीले स्वागत गरेका थिए । साधारण सभामा सचिव मनिराम कडेलले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष मणिराज परियारले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
सोही अवसरमा विन्ध्यवासिनी माध्यमिक विद्यालय, बाटुलेचौरका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालय, पोखराका प्रधानाध्यापक केशव अमगाई तथा निष्पक्ष माध्यमिक विद्यालय, माछापुच्छ्रेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव गिरीलाई सम्मान गरिएको थियो ।
यसै गरी, २०८२ को एसइईमा ४ जिपिए हासिल गर्ने सामुदायिक विद्यालयका १० जना विद्यार्थीलाई पनि सम्मान गरिएको छ । सम्मानित हुने विद्यार्थीहरूमा छोरेपाटन माविका करिना गौडेल, रचना ढकाल र शिवानी सुवेदी, बाराही माविकी रिया जिसी, त्रिभुवन शान्ति मावि, पोखराकी विदिप्ति अधिकारी, माछापुच्छ्रे माविकी शोभा गौतम, जनप्रकाश माविका दीपिका सुवेदी र दिव्या सुवेदी तथा गोगन मावि पोखरा–३२ का सिरिया अधिकारी र सोनिया बैरागी रहेका छन् ।
कार्यक्रममा शिवशक्ति माविका प्रधानाध्यापक बालकृष्ण बास्तोला, विन्ध्यवासिनी माविका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, भवानीकालिका माविका प्रधानाध्यापक रमेश भट्टराई, जनप्रकाश माविका प्रधानाध्यापक शेखरनाथ शर्मा र सिद्धबराह माविका प्रधानाध्यापक सेतीमाया पराजुलीले शुभकामना मन्तव्य राखेका थिए ।
वि.सं. २०५८ सालदेखि कास्की जिल्लाका सामुदायिक विद्यालयहरूलाई एकताको सूत्रमा बाँध्ने तथा गुणस्तरीय शिक्षाको महत्त्वपूर्ण आधारका रूपमा रहेको परीक्षा प्रणालीमार्फत शिक्षक र विद्यार्थीलाई थप जिम्मेवार बनाउने उद्देश्यले तत्कालीन जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक स्व. रामबहादुर थापाको अध्यक्षतामा परीक्षा समितिका रूपमा गठन भएको समिति २०६८ सालमा जिल्ला प्रशासन कार्यालय, कास्कीमा संस्था दर्ता भई क्रियाशील रहँदै आएको निवर्तमान सचिव मनिराम कडेलले जानकारी दिए ।






