
पोखरा, १२ मंसिर
पोखराका सडक तथा आवासीय बस्तीमा भुस्याहा कुकुरको संख्या र आक्रमणका घटना बढ्दै जाँदा सर्वसाधारणको सुरक्षा चुनौतीपूर्ण बन्दै गएको छ। विशेषगरी बालबालिका घरआँगनमै खेल्दा समेत कुकुरको आक्रमणमा पर्न थालेपछि स्थानीयवासी त्रसित बनेका छन्।
यसको पछिल्लो उदाहरण पोखरा महानगरपालिका–१७, आँखा अस्पतालचोकमा देखिएको छ। घरनजिकै खेलिरहेका पाँच वर्षीय बालक विकित तामाङमाथि एक्कासि कुकुरले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका छन्। कुकुरको आक्रमणबाट बालकको दायाँतर्फको टाउको र कानमा गहिरो चोट लागेको छ। उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।
घाउ गहिरो भएकाले टाँका लगाउन नमिल्ने अवस्था रहेको र घाउ सफा गरी औषधि प्रयोग गरेर उपचार गरिएको बालककी आमा सुजना तामाङले जानकारी दिनुभयो। उहाँका अनुसार घाउमा टाँका लगाउनुको सट्टा विशेष टेप प्रयोग गरी उपचार गरिने चिकित्सकले बताएका छन्।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार बालक खेलिरहेका बेला कालो रङको कुकुर एक्कासि आएर आक्रमण गरेको थियो। बालक चिच्याएपछि स्थानीयले थाहा पाएर होहल्ला गर्दा कुकुर भागेको थियो। समयमै स्थानीयको ध्यान नपुगेको भए बालकमाथि थप गम्भीर क्षति पुग्न सक्ने अवस्था रहेको प्रत्यक्षदर्शीको भनाइ छ।
पछिल्लो समय पोखराका बजार क्षेत्रदेखि आवासीय बस्तीसम्म सडक कुकुरको बिगबिगी बढ्दै गएको स्थानीयको गुनासो छ। सडकमा हिँड्ने सर्वसाधारण तथा बालबालिकालाई कुकुरले लखेट्ने र आक्रमण गर्ने मात्र होइन, सवारीसाधनलाई समेत अवरोध पुर्याउँदा दुर्घटनाको जोखिम बढेको स्थानीय डिलमाया कार्की बताउनुहुन्छ।
उहाँका अनुसार सडकमा छाडिएका भुस्याहा कुकुरसँगै घरपालुवा कुकुरलाई समेत जथाभावी सडकमा घुमाउने प्रवृत्तिले समस्या थप जटिल बनाएको छ। कतिपयले आफ्ना कुकुरलाई अरूको घरको गेट तथा सार्वजनिक स्थानमा दिसापिसाब गराउने र सडकमा छाडिदिने गर्दा दुर्गन्ध फैलिनुका साथै सर्वसाधारणलाई सास्ती हुने गरेको छ।
स्थानीयवासीले घरपालुवा कुकुरको उचित व्यवस्थापन गर्ने जिम्मेवारी सम्बन्धित घरधनीले लिनुपर्ने र सडकमा रहेका भुस्याहा कुकुरको व्यवस्थापन महानगरपालिकाले गर्नुपर्ने माग गर्दै आएका छन्।
घरनजिकै खेलिरहेका पाँच वर्षीय बालकमाथि भएको आक्रमणले बालबालिकाको सुरक्षा केवल घरभित्र सीमित नरहेको र सार्वजनिक स्थानसमेत जोखिमपूर्ण बन्दै गएको तथ्य उजागर गरेको छ। विद्यालय परिसर, खेलमैदान, सडक तथा बस्तीका खुला क्षेत्रमा कुकुरको बढ्दो उपस्थितिले अभिभावकको चिन्ता थपिएको छ।
यस्ता घटना दोहोरिन नदिन घाइतेको उपचारमा मात्र सीमित नभई दीर्घकालीन समाधान खोज्न आवश्यक देखिएको छ। सडक कुकुरको मानवीय व्यवस्थापन, बन्ध्याकरण, रेबिजविरुद्धको खोप तथा नियमित निगरानीलाई प्रभावकारी बनाउनुपर्ने स्थानीयको माग छ।
बालबालिकाले आफ्नै घरआँगनमा समेत त्रासमुक्त भएर खेल्न नपाउने अवस्था आउनु गम्भीर विषय हो। सम्भावित दुर्घटनाको प्रतीक्षा गर्नुभन्दा पोखरा महानगरपालिकाले सडक कुकुर व्यवस्थापन र घरपालुवा कुकुरको नियमनमा तत्काल प्रभावकारी कदम चाल्नुपर्ने देखिएको छ। बालबालिकाको सुरक्षा र सार्वजनिक स्वास्थ्यसँग जोडिएको यस समस्यालाई अब सामान्य सरसफाइको विषयका रूपमा मात्र नभई गम्भीर नागरिक सुरक्षा चुनौतीका रूपमा लिन आवश्यक छ।






