पोउबासंघको नेतृत्व कसको हातमा ? चार उम्मेदवारको भाग्य मतपेटिकामा बन्द

-


     केन्द्रीय आवाज    
     भाद्र २१ गते २०८३ मा प्रकाशित


२१ भदौ, पोखरा ।

पोखराको निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको मतदान आइतबार साँझ सम्पन्न भएको छ। दिनभर भएको मतदानमा अध्यक्ष तथा पदाधिकारीतर्फ २ हजार २ सय ७४ मत खसेको निर्वाचन संयोजक दामु अधिकारीले जानकारी दिए। सदस्यतर्फ भने २ हजार १ सय ८ मत खसेको छ।

मतदान सम्पन्न भए पनि मतगणना भने सोमबार बिहान ८ बजेदेखि सुरु हुने संयोजक अधिकारीले बताए। मतगणनापछि सोमबार दिउँसोसम्म अध्यक्षसहित अधिकांश पदको परिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ।

यसपटक अध्यक्ष पदका लागि अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य, बलराम आचार्य र शोभा गौतम चुनावी मैदानमा छन्। आचार्य र गौतमको नेतृत्वमा छुट्टाछुट्टै प्यानल बनेका थिए भने पोखरेल र बुद्धाचार्यले भने अध्यक्षमा स्वतन्त्र रूपमा प्रतिस्पर्धा गरेका हुन्।

मतदानको दिन भने चुनावी समीकरणमा केही फेरबदल देखिएको छ। प्यानलमा रहेका उम्मेदवारबीच नै क्रस भोटिङ भएको तथा केही मतदाताले प्यानलभन्दा बाहिर गएर मतदान गरेको चर्चा चलेसँगै पदाधिकारीको परिणाम मिश्रित आउनसक्ने आकलन गरिएको छ।

विशेषगरी बलराम आचार्य नेतृत्वको प्यानल निर्माणमा भूमिका खेलेका केही पूर्वअध्यक्ष तथा पदाधिकारीहरू नै मतदानको दिन अन्य उम्मेदवारको पक्षमा खुलेर लागेको देखिएको दाबी गरिएको छ। केही पूर्वअध्यक्ष पोखरेलको पक्षमा र केही बुद्धाचार्यको पक्षमा सक्रिय देखिए भने केहीले शोभा गौतम नेतृत्वको प्यानललाई समर्थन गरेका थिए। यसले अध्यक्ष पदको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।

निर्वाचनको अन्तिम परिणामबारे उम्मेदवार तथा समर्थकहरूले आ–आफ्नै दाबी गरिरहेका छन्। पोखरेल पक्षले आफ्नो पक्षमा माहोल बनेको दाबी गर्दा बुद्धाचार्य पक्षले बलराम आचार्यको मत विभाजनका कारण आफूलाई फाइदा पुग्ने बताएको छ। गौतम पक्षले भने महिला तथा साना व्यवसायीको समर्थन आफूलाई प्राप्त भएको दाबी गरेको छ। चारै उम्मेदवारबीचको प्रतिस्पर्धा निकट हुने अनुमान गरिएको छ।

निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी र दिनेशचन्द्र बास्तोला, उद्योग उपाध्यक्षमा सौगात थापा र ललितबहादुर कुँवर तथा वाणिज्य उपाध्यक्षमा भीम गौतम र मनोजकुमार श्रेष्ठबीच प्रतिस्पर्धा भएको छ।

महासचिवमा तारानाथ ढुंगाना र सुदीप प्रधानाङ्ग, कोषाध्यक्षमा जीवनप्रकाश श्रेष्ठ र देवेन्द्र प्रजु तथा उपमहासचिवमा यादवप्रसाद पोखरेल, प्रदीप राजभण्डारी र रामचन्द्र तिमिल्सिनाबीच प्रतिस्पर्धा छ।

खुला सदस्यतर्फ १३ जना उम्मेदवार चुनावी मैदानमा छन्। वस्तुगततर्फ चार सदस्यका लागि पाँच जनाको उम्मेदवारी परेको छ भने औद्योगिक सदस्यमा पिताम्बर अधिकारी निर्विरोध भएका छन्।

अब सबैको ध्यान सोमबार हुने मतगणनातर्फ केन्द्रित भएको छ। पोउबासंघको नेतृत्व कसले सम्हाल्ने भन्ने टुंगो मतपेटिका खुलेपछि मात्रै लाग्नेछ।