२२औँ लेखनाथ महोत्सव पुस २ देखि, २ लाख ७० हजार दर्शक भित्र्याउने लक्ष्य

-


     केन्द्रीय आवाज    
     मंसिर ८ गते २०८३ मा प्रकाशित


पोखरा, ७ मंसिर

लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुने २२औँ लेखनाथ महोत्सव आगामी पुस २ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने भएको छ। ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नारासहित आयोजना हुने महोत्सवमा २ लाख ७० हजार दर्शक भित्र्याउने र १२ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको छ।

महोत्सवबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा संघले स्थानीय उत्पादनको प्रवर्द्धन, व्यापार व्यवसायको विस्तार, पर्यटन विकास तथा सुस्ताउँदै गएको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको जनाएको हो।

संघका अध्यक्ष जानुका पराजुली अधिकारीले विषम आर्थिक परिस्थितिका बीच महोत्सव आयोजना गर्नु चुनौतीपूर्ण भए पनि स्थानीय उत्पादनको बजारीकरण र उद्यमशीलताको विकासका लागि यसको महत्वपूर्ण भूमिका रहेको बताइन्। बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता भए पनि लगानीमैत्री वातावरणको अभावमा निजी क्षेत्रको मनोबल कमजोर बनेको उल्लेख गर्दै उनले व्यवसायीले अनुगमनका नाममा हुने हैरानी र अव्यावहारिक कर प्रणालीबाट समेत समस्या भोग्नुपरेको बताइन्। उनका अनुसार महोत्सव व्यापारिक गतिविधिमा सीमित नभई सिक्ने, सिकाउने र नयाँ उद्यमी उत्पादन गर्ने अनौपचारिक विश्वविद्यालयका रूपमा विकास हुँदै गएको छ।

महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक तथा संघका द्वितीय उपाध्यक्ष ध्रुवबाबु भट्टराईका अनुसार महोत्सवमा औद्योगिक व्यापार मेला, हस्तकला, दैनिक उपभोग्य वस्तु, विद्युतीय उपकरण, फर्निचर, सूचना प्रविधि तथा सञ्चार उपकरणका साथै स्थानीय कृषि उत्पादनको बिक्री तथा प्रदर्शनी गरिनेछ। सुन्तला, माछा, मह, कफी, ताजा तरकारी र दुग्धजन्य उत्पादनलाई विशेष प्राथमिकता दिइनेछ। साथै फुड फेस्टिभल, अटोमोबाइल प्रदर्शनी, ग्रामीण प्रविधि प्रदर्शनी तथा कृषि, पर्यटन र उद्योगसम्बन्धी संवाद कार्यक्रम सञ्चालन हुनेछन्। महोत्सवको विशेष आकर्षणका रूपमा शान्तिका दूत गौतम बुद्धको प्रतिमा पनि राखिनेछ।

सांस्कृतिक कार्यक्रमतर्फ विभिन्न जातजातिका मौलिक संस्कृति, रीतिरिवाज, झाँकी तथा ¥याली, भेषभूषा प्रदर्शनी, महिला विशेष रत्यौली, विद्यालयस्तरीय नृत्य प्रतियोगिता र कवि शिरोमणि लेखनाथ पौड्यालको स्मृतिमा साहित्यिक कार्यक्रम आयोजना गरिनेछ। यसैगरी राष्ट्रिय कलाकारको प्रस्तुति, लोकदोहोरी, पप कन्सर्ट, लाइभ ब्यान्ड, हास्यव्यङ्ग्य, बाल उद्यान, टिकटक प्रतियोगिता तथा बृहत् साइकल ¥यालीसमेत महोत्सवका आकर्षण रहनेछन्।

महोत्सवमा विभिन्न प्रकृतिका ३३५ वटा स्टल रहनेछन्। तीमध्ये गार्मेन्ट तथा तयारी पोसाक र जुत्ताचप्पलका ११२, कृषि तथा पशुजन्य उत्पादनका ४०, किचन सामग्रीका २६, खाद्य तथा पेय पदार्थका १८, खाना महोत्सवका १७, हस्तकलाका १४, डेरीका १३, शैक्षिक तथा ग्रामीण प्रविधिका १३ र मेसिनरीका १२ स्टल रहनेछन्। नेपाली उत्पादन, अटोमोबाइल, बैंक तथा वित्तीय संस्था र प्रायोजकका स्टलसमेत राखिने आयोजकले जनाएको छ।

महोत्सव प्रवेशका लागि विद्यार्थीलाई ५० रुपैयाँ, सर्वसाधारणलाई १०० रुपैयाँ र सुगम सङ्गीत कन्सर्टका लागि २०० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ। संघका सदस्यले आफ्नै स्टल राख्दा २० प्रतिशत छुट र सामान ढुवानीमा थप दुई हजार रुपैयाँ छुट पाउने व्यवस्था गरिएको छ।

आयोजकका अनुसार महोत्सवबाट एक करोड पाँच लाख रुपैयाँ आम्दानी र ८५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। खर्च कटाएर बचत हुने २० लाख रुपैयाँ सात तालको संरक्षण तथा प्रवर्द्धन, नवउद्यमी उत्पादन, उद्यमशीलता विकास, औद्योगिक क्षेत्र निर्माणको पहल, पर्यटन प्रवर्द्धन र सामाजिक उत्तरदायित्वका क्षेत्रमा खर्च गरिनेछ।

महोत्सवका मुख्य प्रायोजक एग्रो थाई फुड्स प्रालिका प्रतिनिधि तथा संघका द्वितीय उपाध्यक्ष विक्रम कर्माचार्यले स्वदेशमै ऊर्जा पेय पदार्थ उत्पादन हुन थालेपछि आयात प्रतिस्थापनमा योगदान पुगेको बताए। कम्पनीले स्थापना गरेका पाँचवटा उत्पादन प्लान्टबाट उखु उत्पादक किसान, रोजगारी र विद्युत् खपतमा समेत सकारात्मक प्रभाव परेको उनको भनाइ थियो।

महोत्सवलाई व्यवस्थित बनाउन विभिन्न तहका निर्देशक, सल्लाहकार, उपसमिति तथा मूल समारोह समितिसहित आवश्यक संरचना गठन गरिएको छ। लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ आयोजक रहेको महोत्सवमा गण्डकी प्रदेश सरकारका सम्बन्धित मन्त्रालय तथा नेपाल पर्यटन बोर्डलगायत संस्थाको सहकार्य र प्रवर्द्धन रहनेछ।

पत्रकार सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले महोत्सव सफल बनाउन सञ्चारमाध्यम, उद्योगी व्यवसायी, नागरिक समाज, कलाकार तथा स्थानीयवासीको सहयोग आवश्यक रहेको बताए। कार्यक्रम महासचिव भरतराज ओझाले सञ्चालन गरेका थिए।