जनस्तरको सम्बन्धले नेपाल–जापान मित्रता थप सुदृढ बनाएको छ : परराष्ट्रमन्त्री खनाल

-


     केन्द्रीय आवाज    
     कार्तिक २० गते २०८३ मा प्रकाशित


काठमाडौँ, कार्तिक १९ । परराष्ट्रमन्त्री शिशिर खनालले शिक्षा, प्रविधि, नवप्रवर्तन र जनस्तरको सम्बन्धले नेपाल–जापानबीचको मित्रतालाई थप सुदृढ बनाएको बताएका छन् ।

साउथ एसिया फेडेरेसन अफ जापानिज युनिभर्सिटी अल्मुनाई एसोसिएसन (साफजुआ) द्वारा आयोजित ‘साफजुआ सिम्पोजियम २०२६’ को उद्घाटन गर्दै उनले शैक्षिक आदानप्रदानबाट स्थापित सम्बन्ध राष्ट्रहरूबीच दीर्घकालीन मित्रताको बलियो आधार बन्ने बताए ।

नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको सन्दर्भमा मन्त्री खनालले दुवै देशबीचको सम्बन्ध औपचारिक कूटनीतिक सम्बन्धभन्दा पुरानो रहेको स्मरण गरे । सन् १८९९ मा जापानी बौद्ध भिक्षु एकाई कावागुची नेपाल आएको र सन् १९०० को सुरुआतमा नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि जापान गएको इतिहास उनले उल्लेख गरे ।

उनले जापानलाई नेपालको विश्वासिलो विकास साझेदारका रूपमा प्रशंसा गर्दै पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि तथा मानव संसाधन विकासमा जापानको सहयोग महत्त्वपूर्ण रहेको बताए ।

हाल जापानमा तीन लाखभन्दा बढी नेपाली बसोबास गरिरहेको र नेपाली विद्यार्थीको सङ्ख्या उल्लेख्य रहेको बताउँदै उनले यसले दुई देशबीचको सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई थप जीवन्त बनाएको उल्लेख गरे ।

नेपालमा हालै आएको बाढीका बेला जापानले उपलब्ध गराएको राहत, फरेन्सिक विशेषज्ञता तथा डीएनए पहिचानसम्बन्धी सहयोगप्रति धन्यवाद व्यक्त गर्दै उनले विपद्का समयमा देखिएको ऐक्यबद्धताले दुई देशबीचको गहिरो मित्रता प्रतिबिम्बित गरेको बताए ।

जलवायु परिवर्तन, प्राकृतिक विपद् र युवा रोजगारीजस्ता साझा चुनौती सामना गर्न नेपाल र जापानबीच थप सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।