
तस्बिर सामाजिक संजाल
१२ असोज, सोमबार, पोखरा ।
अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बागलुङ, म्याग्दी र मनाङ लगायत जिल्लामा गरी २१ जनाको मृत्यु भएको छ भने केही व्यक्ति अझै बेपत्ता छन्। वर्षाजन्य विपद्का कारण सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति पुगेको छ।
बागलुङमा मात्रै पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। तमानखोला गाउँपालिका–४ सन्तरमा पहिरोले घर पुरिँदा ६५ वर्षीया उदिसरा विक र ५० वर्षीय हस्तवीर विकको मृत्यु भएको छ भने ५२ वर्षीया पुनसरा विक बेपत्ता छन्। तमानखोला–३ धनारकुकमा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको छ।

तस्बिर सामाजिक संजाल
त्यस्तै, निसीखोला गाउँपालिका–६ सेलवाङका ५० वर्षीय सूर्यबहादुर घर्तीको पहिरोमा परी मृत्यु भएको छ। निसीखोला–३ कन्केखरियामा पहिरोले घर पुरिँदा श्यामकुमारी विक र उनका तीन सन्तानसहित चार जनाको मृत्यु भएको छ। ताराखोला गाउँपालिका–५ धरर्मरका ५९ वर्षीय मनबहादुर रोक्काको पनि पहिरोमा परी मृत्यु भएको छ।
विपद्का कारण गण्डकीका विभिन्न क्षेत्रमा सडक तथा पुलको आवागमन प्रभावित भएको छ। कालीगण्डकीमा आएको बाढीले पुल बगाउँदा कतिपय स्थानमा सडक सम्पर्क विच्छेद भएको छ भने चामे–बेँसीसहर, बेनी–जोमसोम, जोमसोम–कोरला, डुम्रे–बेँसीसहर तथा मध्यपहाडी राजमार्गका विभिन्न खण्डमा यातायात प्रभावित भएको छ।
विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई तीव्रता दिइएको छ। जोखिममा रहेका नागरिकलाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको छ भने दुर्गम क्षेत्रमा समेत उद्धार टोली परिचालन गरिएको छ। मनाङमा आवश्यक औषधिसहित चिकित्सक र स्वास्थ्यकर्मी पठाइएको छ।
गण्डकी प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन कोषमा १० करोड रुपैयाँ विनियोजन गर्दै सबै ११ जिल्लाका विपद् व्यवस्थापन समितिको कोषमा न्यूनतम १० लाख रुपैयाँ रहने व्यवस्था गरेको जनाएको छ। प्रभावित क्षेत्रमा सडक, खानेपानी, सिँचाइ, स्वास्थ्य, कृषि तथा अन्य अत्यावश्यक सेवा तत्काल सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
प्रदेश सरकारले मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरोला तथा बेँसीसहर–मनाङ सडक शीघ्र सञ्चालनका लागि संघीय सरकारसँग समन्वय गरिरहेको जनाएको छ। विस्थापित नागरिकको पुनःस्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई समेत प्राथमिकतामा राखिएको छ। उद्धार, राहत र बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।





