संविधान कानुनी दस्तावेज मात्र होइन, दशकौँ लामो त्याग, बलिदान र सङ्घर्षको परिणाम हो : प्रदेश प्रमुख भट्ट

-


     तुलसी राम सुवेदी    
     असाेज ३ गते २०८३ मा प्रकाशित


पोखरा, ३ असोज ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको संविधान कानुनी दस्तावेज मात्र नभई नेपाली जनताको दशकौँ लामो त्याग, बलिदान र सङ्घर्षको ऐतिहासिक उपलब्धि भएको बताउनुभएको छ ।

१२औँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा गण्डकी प्रदेश सरकारले पोखरामा आयोजना गरेको संविधान दिवस मूल समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख भट्टले संविधान जनताका प्रतिनिधिद्वारा गठित संविधानसभाबाट जारी भएको ऐतिहासिक दस्तावेज भएको उल्लेख गर्नुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न जनआन्दोलन, सशस्त्र सङ्घर्ष, मधेस आन्दोलनलगायतका आन्दोलनमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलीसमेत अर्पण गर्नुभयो ।

“जनताका प्रतिनिधिद्वारा गठित संविधानसभाबाट जारी भएको नेपालको संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम हो,” प्रदेश प्रमुख भट्टले भन्नुभयो, “संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको यही ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानमा हामी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ ।”

उहाँले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, बहुदलीय लोकतान्त्रिक प्रणाली, विधिको शासन, समानुपातिक समावेशिता, सामाजिक न्याय, धर्मनिरपेक्षता, स्वतन्त्र न्यायपालिका, मौलिक हक तथा मानव अधिकारजस्ता महत्वपूर्ण मूल्य र मान्यतालाई संस्थागत गरेको बताउनुभयो । संविधानले राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वलाई समेत स्पष्ट गर्दै समतामूलक र न्यायपूर्ण समाज निर्माणको आधार तयार गरेको उहाँको भनाइ थियो ।

नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको विकेन्द्रीकरण र जनताको घरदैलोसम्म शासन तथा सार्वजनिक सेवा पु¥याउने लक्ष्य लिएको उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले संघीयताको प्रभावकारी कार्यान्वयनमार्फत नागरिकलाई सहज, सरल, पारदर्शी र गुणस्तरीय सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

विकासका अवसरलाई समान र न्यायोचित रूपमा विस्तार गर्न तीनै तहका सरकारबीच सहकार्य, समन्वय र सहअस्तित्वको भावना अझ मजबुत बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । संघीयताको व्यावहारिक कार्यान्वयनमा प्रदेश सरकार र प्रदेशसभाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उहाँले संविधानप्रदत्त मौलिक हकको प्रभावकारी कार्यान्वयन, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

“सङ्घीयताको व्यावहारिक कार्यान्वयनमा प्रदेश सरकार र प्रदेशसभाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्,” उहाँले भन्नुभयो, “संविधानले सुनिश्चित गरेका मौलिक हकहरूको प्रभावकारी कार्यान्वयन गर्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धितर्फ अग्रसर हुनु आजको हाम्रो मुख्य दायित्व हो ।”

प्रदेश प्रमुख भट्टले जनताको सार्वभौमसत्ता, संविधानको सर्वोच्चता, विधिको शासन तथा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्दै राष्ट्रहितलाई सर्वोपरि राखेर काम गर्ने प्रतिबद्धता अझ दृढ बनाउनुपर्ने बताउनुभयो ।

संविधानको सफल कार्यान्वयनका लागि राज्यका सम्पूर्ण अङ्ग, राजनीतिक दल, नागरिक समाज तथा आम नागरिकबीच बलियो सहकार्य, एकता र निष्ठा आवश्यक रहेको उहाँको भनाइ थियो । संविधानले प्रदान गरेका अधिकारको प्रयोगसँगै नागरिकले आफ्ना कर्तव्य र जिम्मेवारीप्रति पनि उत्तिकै सजग हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

संविधान दिवसले राष्ट्रिय समृद्धि हासिल गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रका आधारभूत मूल्य, मान्यता र प्रणालीलाई राष्ट्रिय जीवनपद्धतिका रूपमा स्थापित गर्न थप प्रेरणा र ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्दै उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय सङ्कल्प पूरा गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।