फ्लाई दुबईको नियमित उडानले पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै

-


     केन्द्रीय आवाज    
     भाद्र ३० गते २०८३ मा प्रकाशित


पोखरा, ३० भदौ ।

लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी असोज ७ गतेदेखि फ्लाई दुबईले नियमित उडान सञ्चालन गर्ने भएको छ। पहिलो उडानका क्रममा विमान तथा यात्रुलाई विमानस्थलमा पानीको फोहरासहित विशेष स्वागत गर्ने तयारी गरिएको छ।
फ्लाई दुबईको विमान बुधबार साँझ पोखरा अवतरण गरी सोही दिन यात्रु लिएर दुबई फर्किनेछ। उडान तालिकाअनुसार विमान हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ। पहिलो दिन निर्धारित समयभन्दा केहीअघि नै विमान अवतरण हुन सक्ने विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए।


फ्लाई दुबईले आवश्यकताअनुसार एयरबस ३१९ र ३२० आलोपालो सञ्चालन गर्ने जनाएको छ। एयरबस ३१९ मा करिब १४० देखि १५० तथा एयरबस ३२० मा १६० देखि १८० यात्रु अट्ने क्षमता रहेको छ।
पोखरा–दुबई सिधा उडानसँगै पोखरा पहिलोपटक नियमित रूपमा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिने भएको छ। फ्लाई दुबई र इमिरेट्स एयरलाइन्सबीचको रणनीतिक कोडसेयर साझेदारीका कारण पोखराबाट दुबई हुँदै युरोप, अमेरिका, अस्ट्रेलिया, जापानलगायत विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा एउटै टिकटबाट यात्रा गर्न सकिने जनाइएको छ। फ्लाई दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीका अनुसार काठमाडौँको तुलनामा पोखराबाट हुने उडानको टिकट करिब पाँच हजार रुपैयाँसम्म सस्तो पर्न सक्छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ २५ गते फ्लाई दुबईलाई पोखरा–दुबई उडानको अनुमति दिएको थियो। सुरुमा एक महिनाका लागि दैनिक एक उडान गर्ने घोषणा गरिए पनि कम्पनीले सन् २०२७ मार्च २६ सम्मको बुकिङ खुला गरेको जनाएको छ।
नियमित अन्तर्राष्ट्रिय उडानको तयारीसँगै पोखराका पर्यटन व्यवसायी उत्साहित बनेका छन्। पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने यो उडानबाट पर्यटन क्षेत्रसँगै मुलुकको अर्थतन्त्रले समेत प्रत्यक्ष लाभ लिन सक्ने बताए। नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले उडानलाई दिगो र सफल बनाउन सम्बद्ध सबै पक्षले आवश्यक तयारी तथा सहकार्य गर्नुपर्नेमा जोड दिए।
पोखरा–दुबई उडान सफल भए अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसमेत पोखरातर्फ आकर्षित हुने अपेक्षा गरिएको छ। यसले गण्डकी प्रदेशमा पर्यटन, व्यापार, रोजगारी तथा आर्थिक गतिविधि विस्तारमा योगदान पु¥याउने विश्वास गरिएको छ।
यसअघि हिमालय एयरलाइन्सले सन् २०२५ मार्चमा पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरु गरे पनि यात्रु अभावका कारण हाल स्थगित छ। त्यसैले फ्लाई दुबईको उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने दोस्रो नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुनेछ।