
पोखरा, भदौ १७ ।
भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल फोटोग्राफर महासंघले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि देशव्यापी सहयोग संकलन अभियान सुरु गरेको छ ।
बाढीबाट ठूलो जनधनको क्षति भएको र अझै केही व्यक्ति बेपत्ता रहेको अवस्थामा पीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले महासंघले देशभर रहेका फोटो व्यवसायी तथा फोटोग्राफरहरूलाई अभियानमा सहभागी हुन आह्वान गरेको हो ।
महासंघका अध्यक्ष महेन्द्रप्रसाद चापागाईंले बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई अझ तीव्र बनाउन सरकार तथा सम्बन्धित निकायसँग आग्रहसमेत गरेका छन् ।
“यो दुःखद् घडीमा समग्र नेपालीको छाती चर्किएको छ, मन रोइरहेको छ,” अध्यक्ष चापागाईंले भनेका छन्, “विपत्तिमा परेका नागरिकको पीडामा मल्हम लगाउन हामी सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्छ।” उनले देशभरका फोटो व्यवसायी तथा फोटोग्राफरहरूलाई मानवीय सेवाको यस अभियानमा आर्थिक सहयोग गर्न अपिल गरेका छन् ।
महासंघका सचिव तुलसीराम सुवेदीका अनुसार संकलित रकमलाई एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने उद्देश्यले देशव्यापी अभियान सञ्चालन गरिएको हो । उनले विपद्को यस कठिन समयमा फोटो व्यवसायी तथा फोटोग्राफर समुदायबाट प्राप्त सहयोगले पीडितको राहत तथा पुनःस्थापनामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
महासंघको अभियानलाई सहयोग गर्दै फोटोग्राफर संघ गण्डकीले गण्डकी प्रदेशअन्तर्गतका जिल्ला संघहरूलाई समेत सहयोग संकलनमा सक्रिय हुन आग्रह गरेको छ । संघका अध्यक्ष नारायणबहादुर केसीका अनुसार प्रदेशका विभिन्न जिल्लामा अभियान तीव्र रूपमा अघि बढिरहेको छ र सहयोग रकम संकलन हुने क्रम जारी छ ।
महासंघका कोषाध्यक्ष जीवन ढुंगानाका अनुसार पोखरा, काठमाडौं, चितवन, नवलपुर, नवलपरासी, कपिलवस्तु, रुपन्देही, पर्वत, स्याङ्जा, मुस्ताङ, दाङ, सुर्खेत, धनगढी, वीरगञ्ज, मोरङ, सुनसरीलगायतका जिल्लामा रहेका फोटोग्राफर संघमार्फत सहयोग संकलन अभियान सुरु गरिएको छ ।
महासंघले विपद्बाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै संकटको यस घडीमा प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्नु सबैको साझा दायित्व भएको जनाएको छ ।
महासंघले स्थानीय तह, सरकारी तथा गैरसरकारी संघसंस्था, निजी क्षेत्र, सामाजिक संघसंस्था र आम नागरिकलाई समेत मानवीय सहयोगका लागि अभियानमा सहभागी हुन अपिल गरेको छ ।







