
पोखरा, साउन १९
पोखराको निजी क्षेत्रको अग्रणी छाता संस्था पोखरा उद्योग वाणिज्य संघको भदौ २० र २१ गते हुने ३६औँ महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा चारजनासम्म उम्मेदवार बन्न सक्ने सम्भावना देखिएको छ। उम्मेदवारहरूको संख्या बढ्ने संकेतसँगै सहमति कायम गराउने प्रयास पनि विभिन्न तहबाट तीव्र बनेको छ।
हालसम्म वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, उपाध्यक्ष बलराम आचार्य र महासचिव शोभा गौतमले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्। यसअघि दुई पटक अध्यक्षमा पराजित अर्जुन पोखरेल पनि उम्मेदवार बन्ने तयारीमा रहेको चर्चा छ। पोखरेल हाल क्यानाडामा रहेकाले उनी शनिबारसम्म पोखरा फर्किएर चुनावी अभियानमा सक्रिय हुने अपेक्षा गरिएको छ, यद्यपि उनले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छैनन्।
निर्वाचन समितिले आगामी साताभित्र उम्मेदवारी दर्ताको प्रक्रिया सुरु गर्ने तयारी गरिरहेको स्रोतले जनाएको छ।
पोखरेलको उम्मेदवारी अझै अनिश्चित रहेकाले तीन घोषित आकांक्षीबीच सहमति जुटाउने प्रयास जारी छ। चारै जनालाई नेपाली कांग्रेस निकट मानिने भएकाले कांग्रेस नेतृत्वले पनि साझा उम्मेदवारको सम्भावना खोजिरहेको बताइएको छ। यसअघि संघका केही पूर्वअध्यक्षहरूले पनि आकांक्षीहरूबीच छलफल गराएका थिए।
सोमबार कास्की कांग्रेसका सभापति किशोरदत्त बराल, पोखरा महानगर सभापति सुरेन्द्रमान बिजुक्छे, नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघका केन्द्रीय अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा संघका अध्यक्ष गोकर्ण कार्कीको उपस्थितिमा तीन आकांक्षीसँग छलफल भएको थियो। बैठकमा पार्टीका तर्फबाट सहमतिमा पुग्न आग्रह गरिएको बताइएको छ।
बैठकमा उत्तममान बुद्धाचार्य र बलराम आचार्यले साझा सहमति बने आफूहरू बाधक नबन्ने जनाए पनि आफ्नो पक्षमा बलियो समर्थन रहेको दाबी गरेका थिए। भने शोभा गौतमले यसपटक महिलालाई नेतृत्वमा पु¥याउने ऐतिहासिक अवसर भएको उल्लेख गर्दै उम्मेदवारी फिर्ता नलिने अडान दोहो¥याएकी थिइन्। उनले अधिकांश मतदातासँग प्रत्यक्ष सम्पर्क गरिसकेको र आफ्नो जित सुनिश्चित रहेको दाबी गरेकी छन्।
उता बुद्धाचार्यले वरिष्ठ उपाध्यक्षको हैसियतले आफू अध्यक्षको स्वाभाविक दाबेदार रहेको बताउँदै लामो व्यवसायिक अनुभव र बजार क्षेत्रको बलियो सम्बन्धलाई आफ्नो मुख्य आधार मानेका छन्। बलराम आचार्यले पनि अघिल्लो महाधिवेशनताका भएको सहमति तथा संघमा लामो समयको सक्रिय योगदानका आधारमा आफू नेतृत्वको उपयुक्त उम्मेदवार भएको दाबी गरेका छन्।
यसबीच अर्जुन पोखरेल उम्मेदवार बनेमा वर्तमान कार्यसमितिका केही पदाधिकारी तथा सदस्यहरूको समर्थनमा छुट्टै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रने सम्भावना रहेको चर्चा व्यवसायिक वृत्तमा चलिरहेको छ। चारजनाबीच प्रतिस्पर्धा भए मत विभाजनको समीकरणले कसलाई फाइदा पुग्ने भन्ने विषय अहिले नै चासोको केन्द्र बनेको छ।





