
पोखरा, असार २७ (शनिबार)
नेपाल राष्ट्र बैंकअन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थामा बढ्दै गएका निष्क्रिय खाताको संख्या न्यूनीकरण गर्न स्पष्ट कार्ययोजना बनाएर २०८३ पुस मसान्तभित्र कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ।
राष्ट्र बैंकले शुक्रबार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक तथा ‘ग’ वर्गका वित्त कम्पनीलाई जारी गरेको संशोधित एकीकृत निर्देशन, २०८२ मार्फत निष्क्रिय खाता व्यवस्थापनलाई थप प्रभावकारी बनाउन विभिन्न व्यवस्था लागू गरेको हो।
निर्देशनअनुसार कुनै खाता निष्क्रिय हुनुअघि सम्बन्धित ग्राहकलाई फोन, एसएमएस, इमेललगायतका माध्यमबाट नियमित रूपमा जानकारी गराउनुपर्नेछ। यसले ग्राहकलाई समयमै सचेत गराई खातालाई निष्क्रिय हुनबाट जोगाउन सहयोग पुग्ने राष्ट्र बैंकको अपेक्षा छ।
त्यसैगरी, निष्क्रिय भइसकेका खातालाई पुनःसक्रिय गराउन बैंक तथा वित्तीय संस्थाले कम्तीमा प्रत्येक छ महिनामा एकपटक फोन, एसएमएस वा इमेलमार्फत सम्बन्धित ग्राहकलाई सम्पर्क गरी खाता सञ्चालनमा ल्याउन अनुरोध गर्नुपर्नेछ। यस्तो सम्पर्क तथा अनुरोधको अभिलेख अनिवार्य रूपमा सुरक्षित राख्नुपर्ने व्यवस्था पनि गरिएको छ।
संशोधित निर्देशनले ग्राहकको सुविधालाई प्राथमिकता दिँदै बैंकका खाताहरू नेपालभरका जुनसुकै शाखा कार्यालयबाट वा मोबाइल तथा वेब एप्लिकेसनमार्फत सहज रूपमा बन्द गर्न सकिने व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ।
ग्राहकले शाखामा उपस्थित भएर वा डिजिटल माध्यमबाट खाता बन्द गर्न अनुरोध गरेमा उक्त खातामा रहेको मौज्दात ग्राहकले तोकेको अन्य बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नै खातामा रकमान्तर गरी खाता बन्द गरिदिनुपर्ने व्यवस्था पनि निर्देशिकामा समेटिएको छ।
यसैगरी, ग्राहक पहिचानको प्रक्रिया पूरा गरी नेपालभरका जुनसुकै शाखाबाट निष्क्रिय खाता पुनःसक्रिय गर्न सकिने प्रणाली विकास गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।
राष्ट्र बैंकले पुनः सञ्चालनमा आएका निष्क्रिय खातामार्फत हुन सक्ने अस्वाभाविक वा शंकास्पद कारोबारको प्रभावकारी निगरानी गर्न आवश्यक प्रणाली विकास गरी कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
राष्ट्र बैंकको यो नयाँ व्यवस्था निष्क्रिय खाताको संख्या घटाउने, डिजिटल बैंकिङ सेवामा सहज पहुँच विस्तार गर्ने, ग्राहकमैत्री सेवा प्रवाह सुनिश्चित गर्ने तथा वित्तीय प्रणालीलाई थप सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले ल्याइएको जनाइएको छ।






