प्राविधिक धारका विद्यालय सुदृढीकरणमा जोड, स्रोत अभाव प्रमुख समस्या

-


     केन्द्रीय आवाज    
     असार १८ गते २०८३ मा प्रकाशित


पोखरा, असार १८
प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तारसँगै विद्यालय सञ्चालनमा आर्थिक चुनौती बढ्दै गएको सरोकारवालाले बताएका छन्। संघीय सरकारले विद्यालय सञ्चालनका लागि स्थानीय तहलाई पर्याप्त बजेट उपलब्ध गराउन नसक्दा अधिकांश पालिकाले आफ्नै स्रोतबाट विद्यालय सञ्चालन गर्नुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरको आयोजनामा प्राविधिक धार सञ्चालन भएका विद्यालयका प्रधानाध्यापकहरूका लागि आयोजित अभिमुखीकरण तथा नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले विद्यालय सञ्चालनका लागि आवश्यक आर्थिक स्रोतको अभावले स्थानीय तहलाई थप जिम्मेवारी वहन गर्नुपरेको बताए। उनले अभिभावकसँग राम्रो सहकार्य गर्न सफल विद्यालयमा विद्यार्थी भर्नाको आकर्षण बढ्दो रहेको उल्लेख गर्दै विद्यार्थी संख्या अत्यन्त न्यून वा शून्यसरह भएका विद्यालयलाई मात्र समायोजन (मर्ज) गर्ने नीति अवलम्बन गरिएको स्पष्ट पारे।

कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक निमप्रकाश सिंह राठौरले विद्यालय शिक्षाको वर्तमान अवस्था, प्राविधिक शिक्षाको विस्तार र विद्यालय व्यवस्थापनसम्बन्धी विषयमा प्रस्तुतीकरण गर्दै देशभर ४२ हजार ६१९ विद्यालय सञ्चालनमा रहेको जानकारी दिए। तीमध्ये ३५ हजार ९५१ विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययन–अध्यापन भइरहेको तथा करिब ७० लाख ४८ हजार २५ विद्यार्थी अध्ययनरत रहेको उनले बताए। उनका अनुसार हाल देशभर ५६९ विद्यालयमा प्राविधिक धार सञ्चालनमा छन् भने गण्डकी प्रदेशमा मात्रै ५६ विद्यालयले प्राविधिक शिक्षा प्रदान गरिरहेका छन्।

राठौरले प्रारम्भिक बालविकास कार्यक्रममा सहभागिताको अवस्था सुधारोन्मुख रहेको उल्लेख गर्दै कक्षा १ मा भर्ना भएका ७७.५१ प्रतिशत बालबालिकाले प्रारम्भिक बालविकासको अनुभव लिएको जानकारी दिए। गण्डकी प्रदेशमा भने यो दर ८५.५८ प्रतिशत पुगेको छ। त्यस्तै, आधारभूत तहमा कक्षा उकास्ने दर ८९.३ प्रतिशत र माध्यमिक तहमा ९३.१ प्रतिशत रहेको तथ्यांक पनि उनले सार्वजनिक गरे।

उनका अनुसार अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन, विद्यालय समायोजन र दरबन्दी मिलान, प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार, साक्षरता अभियान तथा डिजिटल प्रविधिमार्फत सिकाइलाई प्रभावकारी बनाउने विषय केन्द्रका प्रमुख प्राथमिकतामा रहेका छन्।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीका निमित्त इकाइ प्रमुख टंकराज बरालले गुणस्तरीय, व्यवहारमुखी र रोजगारमुखी शिक्षाको विकासका लागि संघ, प्रदेश, स्थानीय तह तथा विद्यालयबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताए। उनले प्राविधिक शिक्षालाई समयानुकूल, व्यावहारिक र उत्पादनसँग जोड्न सके मात्र यसको वास्तविक उद्देश्य पूरा हुने धारणा व्यक्त गरे।

शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीको सभाहलमा सम्पन्न कार्यक्रममा प्राविधिक धार सञ्चालन गरिरहेका विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन शाखा अधिकृत बलराम भुगाईंले गरेका थिए। कार्यक्रममा सहभागीहरूले प्राविधिक शिक्षाको गुणस्तर अभिवृद्धिसँगै आवश्यक बजेट, पूर्वाधार र दक्ष जनशक्तिको सुनिश्चितता गर्न तीनै तहका सरकारबीच अझ प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।