कास्कीमा अनुसन्धानमूलक लेखन तालिम सम्पन्न, ६० पत्रकार लाभान्वित

-


     केन्द्रीय आवाज    
     जेठ २७ गते २०८३ मा प्रकाशित


तुलसी राम सुवेदी
पोखरा, जेठ २७

कास्कीका पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको चारदिने अनुसन्धानमूलक लेख लेखन तालिम आज सम्पन्न भएको छ।

नेपाल पत्रकार महासंघ कास्की शाखाको आयोजनामा तथा पोखरा महानगरपालिकाको सहयोगमा पहिलो पटक सञ्चालन गरिएको उक्त तालिममा जिल्लाका ६० जना सक्रिय पत्रकारहरूको सहभागिता रहेको थियो।

तालिममा त्रिभुवन विश्वविद्यालय का पत्रकारिता विषयका प्राध्यापकहरू डा. कुन्दन अर्याल, डा. श्रीराम पौडेल र डा. कपिल अधिकारीले सहजीकरण गर्नुभएको थियो। यसका साथै अनुसन्धानमूलक लेख लेखनको सार, अवसर र चुनौतीका विषयमा अमृत कुमार भण्डारीले विशेष सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा सहभागी पत्रकारहरूको तर्फबाट शुस्मा नेपाली र फणिन्द्र अधिकारीले तालिमबाट प्राप्त अनुभव तथा सिकाइबारे धारणा राख्नुभएको थियो।

समापन कार्यक्रममा प्रमुख प्रशिक्षक तथा त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभाग प्रमुख प्राध्यापक डा. कुन्दन अर्यालले मोफसलमा यस प्रकारको अनुसन्धानमूलक तालिम सञ्चालन हुनु आफैंमा उपलब्धिमूलक रहेको उल्लेख गर्नुभयो। उहाँले यस्ता कार्यक्रमहरूलाई भविष्यमा विश्वविद्यालयका विद्यार्थीहरूसँग पनि जोडेर सञ्चालन गर्न सकिने सम्भावना औँल्याउनुभयो।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहसचिव धनबहादुर गुरुङ (सुमन) ले सञ्चालन गर्नुभएको थियो।

जेठ २४ गतेदेखि सुरु भएको उक्त तालिममा सहभागी पत्रकारहरूलाई समापनसँगै प्रमाणपत्र प्रदान गरिएको थियो। तालिमले अनुसन्धानमूलक पत्रकारिताको महत्व, तथ्यपरक लेखन, विश्लेषणात्मक दृष्टिकोण तथा पेशागत सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।