पोखरा बसपार्क क्षेत्रका वास्तविक सुकुम्बासी पहिचान र व्यवस्थापनका लागि दुई समिति गठन

-


     केन्द्रीय आवाज    
     जेठ १२ गते २०८३ मा प्रकाशित


१२ जेठ २०८३, पोखरा
पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित बसपार्क क्षेत्रभित्र बसोबास गर्दै आएका व्यक्तिहरूमध्ये वास्तविक सुकुम्बासी तथा भूमिहीन परिवारको पहिचान गर्न र उनीहरूको उचित व्यवस्थापनका लागि आवश्यक जग्गा खोजी गर्न दुईवटा छुट्टाछुट्टै समिति गठन गरेको छ।
महानगर प्रमुख धनराज आचार्य का अनुसार, जेठ ८ गतेसम्म अद्यावधिक विवरण तथा लगत बुझाएका ५७२ जनामध्ये वास्तविक सुकुम्बासी तथा भूमिहीन परिवारको पहिचान गरी उनीहरूका लागि उपयुक्त जग्गा व्यवस्थापन गर्ने उद्देश्यले यी समितिहरू गठन गरिएका हुन्।
गठित दुवै समितिलाई आजबाट लागू हुने गरी १० कार्यदिनभित्र तथ्यगत अध्ययन सम्पन्न गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ। वास्तविक सुकुम्बासी तथा भूमिहीनको पहिचानका लागि गठन गरिएको समितिको संयोजकमा महानगरपालिकाको प्रशासन महाशाखा प्रमुखलाई तोकिएको छ।
उक्त समितिमा कृषि तथा भूमि व्यवस्था मन्त्रालय (गण्डकी प्रदेश), जिल्ला प्रशासन कार्यालय कास्की, साविक मालपोत कार्यालय कास्की, साविक नापी कार्यालय कास्की तथा जिल्ला प्रहरी कार्यालय कास्की का अधिकृत प्रतिनिधिहरू सदस्यका रूपमा रहेका छन्। समितिको सदस्य सचिवमा वडा नं. ९ का वडा सचिवलाई जिम्मेवारी दिइएको छ।
समितिले बसपार्क क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूद्वारा गठित ‘सुकुम्बासी समस्या सहजीकरण समिति’सँग समन्वय गर्दै वास्तविक सुकुम्बासीको पहिचान गर्ने र १० दिनभित्र प्रतिवेदन बुझाउने महानगर प्रमुख आचार्यले जानकारी दिए।
यसैगरी, सुकुम्बासी तथा भूमिहीन परिवारहरूको स्थानान्तरणका लागि उपयुक्त जग्गा पहिचान तथा सिफारिस गर्न ‘जग्गा व्यवस्थापन (खोजी) समिति’ गठन गरिएको छ। उक्त समितिको संयोजकमा पोखरा–१७ की वडाध्यक्ष राधिका शाही योगी रहेकी छन्।
समितिका सदस्यहरूमा पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, पोखरा–१५ का वडाध्यक्ष तोरण बानियाँ, पोखरा–१४ का वडाध्यक्ष बोधराज कार्की, पोखरा–२५ का कार्यवाहक वडाध्यक्ष धना पोखरेल, महानगरको नापी शाखाकी प्रमुख सीता कार्की रहेका छन्। सदस्य सचिवको जिम्मेवारी प्रशासनिक अधिकृत टिकाराम बजगाईलाई दिइएको छ।