१ वैशाख २०८३, मंगलवार, पोखरा
नेपाली नयाँ वर्षको अवसर पारेर फेवा नववर्ष महोत्सव भव्य रूपमा आयोजना भइरहँदा पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको उल्लेखनीय वृद्धि भएको देखिएको छ। आयोजकका अनुसार यस वर्ष अघिल्ला वर्षहरूको तुलनामा पर्यटक आगमन बढेको अनुमान गरिएको छ, जसले विशेषगरी लेकसाइड क्षेत्रको पर्यटन व्यवसायमा सकारात्मक प्रभाव पारेको छ।
पोखरा बाहिरबाट आएका पर्यटकहरूको उल्लेख्य उपस्थितिका कारण लेकसाइड क्षेत्रमा सञ्चालित होटलहरूमा पाहुनाको चाप बढेको छ। पोखरा होटल संघ का अध्यक्ष तथा महोत्सव आयोजक समितिका संयोजक लक्ष्मण सुवेदीका अनुसार हाल लेकसाइड क्षेत्रका होटलहरू ९० प्रतिशतभन्दा बढी क्षमतामा सञ्चालन भइरहेका छन्।
उनले नेपाली नयाँ वर्ष मनाउन देशका विभिन्न भागबाट आएका पर्यटकले होटलहरू भरिभराउ भएको जानकारी दिँदै महोत्सवको २१औँ संस्करणले पर्यटक आगमन थप बढाएको बताए। “यो हाम्रो लागि अत्यन्त खुसीको विषय हो,” उनले उल्लेख गरे।
होटल व्यवसायी सन्तोष पोखरेलका अनुसार महोत्सवसँगै आयोजना भइरहेका विभिन्न कार्यक्रमहरूले पोखरा बाहिरबाट आउने पर्यटकको संख्या उल्लेखनीय रूपमा वृद्धि गराएको छ। उनका अनुसार सामान्य अवस्थामा लेकसाइड क्षेत्रमा स्थानीयको उपस्थिति बढी रहने भए पनि महोत्सव अवधिमा बाहिरी पर्यटकको उपस्थिति करिब ९० प्रतिशतसम्म पुगेको देखिएको छ।
प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र साहसिक पर्यटनका कारण अन्तर्राष्ट्रिय स्तरमै परिचित पोखरा लाई पर्यटन राजधानी घोषणा गरिएपछि यसको प्रवद्र्धनमा निरन्तर गरिएका प्रयासले पनि पर्यटक आकर्षणमा टेवा पु¥याएको पर्यटन व्यवसायीहरू बताउँछन्।
यद्यपि, पर्यटकको उल्लेख्य उपस्थितिका बावजुद रेस्टुरेन्ट व्यवसायमा अपेक्षाअनुसार कारोबार हुन नसकेको गुनासो व्यवसायीहरूको छ। रेस्टुरेन्ट व्यवसायी वीरेन्द्र शेरचनका अनुसार महोत्सव क्षेत्रमा आएका कतिपय पर्यटकहरू खानपिनका लागि रेस्टुरेन्टमा बस्न हिच्किचाउने गरेका छन्।
विशेषगरी सवारी साधन प्रयोग गरेर आएका आगन्तुकहरू ट्राफिक प्रहरीको चेकजाँच तथा सम्भावित जरिवानाको झन्झटका कारण रेस्टुरेन्टमा बसेर सेवा लिन अनिच्छुक देखिएको व्यवसायीहरूको भनाइ छ। यसले खानपिन व्यवसायमा अपेक्षित चहलपहल देखिन नसकेको उनीहरूको निष्कर्ष छ।
महोत्सव अवलोकन गर्न पुगेका स्थानीय व्यवसायी तथा राजनीतिक कार्यकर्ता पुष्पराज पराजुलीका अनुसार अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना हुने सडक महोत्सवको तुलनामा पछिल्ला वर्षहरूमा फेवा नववर्ष महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति उल्लेखनीय रूपमा बढ्दै गएको छ।
पोखरामा करिब १,२०० होटल सञ्चालनमा रहेका छन्, जहाँ दैनिक ४० हजारसम्म पर्यटकलाई आवास सेवा उपलब्ध गराउन सकिने क्षमता रहेको अध्यक्ष सुवेदीले जानकारी दिए




