
२७ चैत्र,काठमाण्डौ
निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को वार्षिक साधारण सभा तथा महाधिवेशन अदालतको अन्तरिम आदेशपछि अन्तिम समयमा स्थगित भएको छ।
यही चैत २९–३० गतेका लागि तय गरिएको महासंघको ६०औँ वार्षिक साधारण सभा एवं अधिवेशन उच्च अदालत पाटनको आदेशअनुसार शुक्रबार साँझ रोकिएको हो। अदालतले साधारण सभा तत्कालका लागि स्थगित गर्न आदेश दिएपछि महासंघको निर्वाचन समितिले सोही आधारमा कार्यक्रम स्थगनको सूचना जारी गरेको जनाएको छ।
महासंघको सदस्यता विवादलाई लिएर नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघसमेतले दायर गरेको रिटमा उच्च अदालत पाटनका न्यायाधीशद्वय खड्कबहादुर केसी र दीपक खनालको संयुक्त इजलासले निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गरेको हो। आदेशसँगै सदस्यता सम्बन्धी विवादको टुंगो नलागेसम्म साधारण सभा तथा महाधिवेशनका प्रक्रिया अघि बढाउन नमिल्ने अवस्था सिर्जना भएको छ।
यसअघि चैत २३ गते अदालतको एकल इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो। बिहीबार भएको बहसपछि संयुक्त इजलासले साधारण सभा रोक्न अन्तरिम आदेश दिएको हो।
अदालतको आदेशमा भनिएको छ, “मिति २०८१/११/१६ मा जारी परमादेशबमोजिम आवश्यक निर्णय नगरी साधारण सभा सञ्चालन हुँदा निवेदकलाई अपूरणीय क्षति पुग्ने देखिएकाले सो निर्णय नभएसम्म साधारण सभा नगर्न/नगराउनू भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरिएको छ।”
निवेदक पक्षले आफूहरू अघिल्लो वार्षिक साधारण सभामा सदस्य रहे पनि यसपटक सदस्यता नदिइएको दाबी गर्दै प्रक्रिया रोक्न माग गरेका थिए। सदस्यता समितिको सिफारिसविपरीत महासंघको कार्यसमितिले निर्णय गरेको भन्दै उक्त निर्णय बदर गर्न पनि रिटमा माग गरिएको छ।
यस वर्षको साधारण सभाबाट नयाँ कार्यसमिति चयन गर्ने कार्यतालिका तय गरिएको थियो। सोहीअनुसार निर्वाचन समितिले प्रक्रिया अघि बढाइसकेको थियो भने व्यवसायीहरू विभिन्न प्यानल बनाएर चुनावी तयारीमा सक्रिय थिए।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था रहेकाले हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ अध्यक्ष बन्ने निश्चित जस्तै देखिएको थियो। तर अन्य पदका लागि भने प्रतिस्पर्धा तीव्र बन्दै गएको अवस्थामा कार्यक्रम नै स्थगित भएपछि चुनावी माहोलमा सक्रिय व्यवसायीहरू अन्योलमा परेका छन्।
देशभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका प्रतिनिधिहरूसँग भेटघाट गर्दै काठमाडौँ केन्द्रित भएका व्यवसायीहरू एकाएक कार्यक्रम स्थगित भएपछि आगामी प्रक्रियाबारे अनिश्चित बनेका छन्।





