सिद्धबाबा सुरुङमार्गको ५७ प्रतिशत भौतिक प्रगति

-


     केन्द्रीय आवाज    
     असार ३१ गते २०८२ मा प्रकाशित


पोखरा, असार ३१
राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको काम तीव्र गतिमा अगाडि बढेको छ। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको दोभानमा निर्माण भइरहेको सुरुङमार्गको हालसम्म ५७.५१ प्रतिशत भौतिक प्रगति र ५१.१ प्रतिशत वित्तीय प्रगति भएको आयोजनाले जनाएको छ।
मुख्य टनेलको १,०८९ मिटर इन्भर्ट र ८३४ मिटर लाइनिङ सकिएको छ। सुरुङभित्र अहिले २९२ मिटरमा लाइनिङ कार्य चलिरहेको छ। तीनवटा बाइपासमध्ये अधिकांश काम सम्पन्न भइसकेको छ।
सुरुङमार्ग दुई लेनको हुनेछ, जसको लम्बाइ १,१२६ मिटर, चौडाइ १०.५ मिटर र उचाइ करिब सात मिटर हुनेछ। मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ भने लाइटिङ, सञ्चार तथा सुरक्षा उपकरण जडानको तयारी हुँदैछ।
सात अर्ब ३४ करोड रुपैयाँ लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले निर्माण गरिरहेको यो आयोजना २०८३ सालसम्म सम्पन्न गर्ने लक्ष्य छ।