दृष्टिविहीनको साहारा बन्दै ‘गुगल’

-


     तुलसी राम सुवेदी    
     वैशाख ५ गते २०८१ मा प्रकाशित


५ बैशाख कास्की

दृष्टिविहीनहरुका लागि गुगल सहारा बन्दैछ । दृष्टिविहीनहरु पनि अबका दिनमा अरुको सहाराबिना हिँडडुल गर्नेमा विश्वस्त छिन् । पोखरा महानगरपालिकाको सहयोगमा तथा नेत्रहीन सङ्घ कास्कीको आयोजनामा दृष्टिविहीनहरुका लागि प्रविधिमा पहुँचयुक्त गमनशीलता तालिम संचालन भयो ।
सो तालिममा सहभागि भएकी दृष्टिविहीन रोजिना घिमिरेले तालिम निकै फलदायी भएको बताइन् । “हामीलाई आवश्यकताले सञ्जाल चिनाएको छ । सञ्जालले सञ्चार चिनाएको छ र सञ्चारले संसार चिनाएको छ”, रोजिनाले भनिन्, “प्रविधिले अपाङ्गता व्यक्तिलाई सहज बनाएको छ हामीलाई भने असम्भवलाई सम्भव बनाएको छ । दृष्टिविहीनलाई यसले दुष्टियुक्त बनाउन मद्दत गरेको छ ।”
‘गुगल’ नक्साका आधारमा आफू कहाँ पुग्ने हो त्यो ‘सेट’ गरेपछि दायाँ, बायाँ, बाटो पार गर्नेलगायत सबै भनिदिने हुँदा सहज भएको रोजिनाले बताइन् । मोबाइल भएपछि सहयोगी आवश्यक नपर्ने उनले बताइन ्।

तालिमका प्रशिक्षक तथा राष्ट्रिय अपाङ्ग महासङ्घ, गण्डकीका अध्यक्ष खोमराज शर्माले तालिममा दृष्टिविहीनलाई ‘गुगल म्याप’सँगै ‘ई–सेवा, इन्ड्राइभ, पठाओ’जस्ता ‘एप्लिकेसन’ चलाउन पनि सिकाइएको जानकारी दिए । यसले उनीहरूको दैनिकीमा सहयोग पुग्ने उनले सुनाए ।
प्रविधिको अधिकतम प्रयोग गर्नसके दृष्टिविहीनतालाई अवसरका रूपमा लिन सकिने उनले बताए्।
“प्रविधिमा साँच्चै हाम्रो पहुँच हुने हो भने हामीले हीनतावोध गर्नुपर्दैन । हामीले गर्न नसक्ने भन्ने विषय सबै विगत बनिदिन्छ”, प्रशिक्षक शर्माले भने, “तर चुनौती भनेको यसको समाधान न हाम्रो सरकारलाई थाहा छ न ‘एप्लिकेसन डेभलपर’लाई थाहा छ । यो चुनौती चिर्न स्थानीय, प्रदेश र सङ्घ सरकारले लगानी गर्न जरुरी रहेको उनले बताए ।

राष्ट्रिय अपाङ्ग महासङ्घको केन्द्रीय सदस्य पुष्पराज रिमालले प्रविधिले आफूहरूलाई सक्षम बनाएको बताए । “सामान्य रूपमा हेर्दा मोबाइल केही होइन तर सबैथोक हो”, उनले भने, “प्रविधिले हामीलाई सक्षम बनाएको छ । त्यसलाई हामीले चिन्नुपर्छ ।” सरकारले हरेक क्षेत्रमा हरेक नागरिकका लागि उपयुक्त प्रविधिमा लगानी गर्नुपर्ने उनको धारणा छ ।

कास्की नेत्रहीन सङ्घका अध्यक्ष श्रीकान्त सापकोटाले सङ्घले दृष्टिविहीनका लागि विभिन्न कार्यक्रम र तालिम गरिहेको बताए ।

“हामीले नेपालमै पहिलोपटक सेतो छडी प्रयोग गरेर कसले राम्रोसँग हिँड्नसक्छ भनेर गमनशीलता प्रतियोगिता गर्यौ त्यसपछि सेतो छडी लिएर हिँड्न गमनशीलता तालिम पनि दियौँ”, अध्यक्ष सापकोटाले भने, “अब नयाँ ढङ्गले जाऊ भनेर अहिले प्रविधिमा पहुँचयुक्त गमनशीलता तालिम आयोजना गरेका हौँ ।”

उनले अहिले पनि संविधानको मर्मअनुसार सबै ठाउँमा समावेशिता नभेटिएको बताए । ‘बी माई एआई’ प्रयोग गरेर दृष्टिविहीनले सबै विषय थाहा पाउने प्रविधिको विकास भइसक्दा पनि त्यसमा कसैको ध्यान नगएको अध्यक्ष सापकोटाको गुनासो थियो ।

यसका लागि राज्यले तालिम, साधन अनि पहुँचताको सुनिश्चितता गर्नुपर्ने उनले बताए । दृष्टिविहीनको हकअधिकारका लागि संस्थाले आगामी दिनमा पनि रचनात्मक कार्यक्रम गर्दै जाने उनले जानकारी दिए ।
कास्कीमा एक हजार पाँच सयको हाराहारीमा दृष्टिविहीन रहेकोमा संस्थामा एक सय ५० जना मात्र आबद्ध रहेको कास्की नेत्रहीन सङ्घका अध्यक्ष श्रीकान्त सापकोटाले जानकारी दिए । गमनशीलता तालिममा २४ जना सहभागी भएका थिए ।