
मङ्सिर १, पोखरा । गण्डकी प्रदेश खेलकुद परिषद्का पदमुक्त सदस्य सचिव श्रीधर शर्मालाई पदमा यथावत् राखी कामकाज गर्न दिन उच्च अदालत पोखराले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
उच्च अदालत पोखराका न्यायाधीश तेजनारायण सिंह राईको एकल इजलासले शर्मालाई पदबाट हटाउने गण्डकी प्रदेश सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न र उनलाई सदस्य सचिवकै हैसियतमा कामकाज गर्न दिन विपक्षीका नाममा आदेश जारी गरेको हो।
गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गतेको निर्णयबाट पदमुक्त गरिएका शर्माले उक्त निर्णयविरुद्ध मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाई गत शुक्रबार उच्च अदालत पोखरामा उत्प्रेषण तथा परमादेशसमेतको माग गर्दै रिट निवेदन दायर गरेका थिए।
निवेदकका तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता मुकुन्दराज अर्याल तथा अधिवक्ताहरू वीरेन्द्र केसी, श्रीधर शर्मा र टंकराज बस्यालले गरेको बहस सुनेपछि अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
अदालतको आदेशअनुसार अन्तरिम आदेशसम्बन्धी छलफलबाट अन्तिम निष्कर्षमा नपुग्दासम्म प्रदेश सरकारको कात्तिक १८ गतेको निर्णय यथास्थितिमा राख्नुपर्नेछ। उक्त निर्णय कार्यान्वयन नगर्न र निवेदक शर्मालाई सदस्य सचिवको पदमा यथावत् रही कार्य गर्न दिन अदालतले उच्च अदालत नियमावली, २०७३ को नियम ४२ को उपनियम १ को खण्ड (क) बमोजिम आदेश दिएको छ।
यसैगरी, अदालतले निवेदनमा माग गरिएबमोजिमको आदेश जारी गर्नुपर्ने वा नपर्ने सम्बन्धमा कारणसहितको लिखित जवाफ सूचना प्राप्त भएको मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र पेस गर्न विपक्षीहरूका नाममा आदेश जारी गरेको छ। प्रदेश खेलकुद परिषद्का हकमा आफैँ वा कानुनबमोजिमको प्रतिनिधिमार्फत तथा अन्य विपक्षीका हकमा मुख्य न्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ।
अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा दुवै पक्षको उपस्थिति र बहसपछि निष्कर्षमा पुग्न उपयुक्त हुने ठहर गर्दै अदालतले आगामी मङ्सिर ७ गतेका लागि छलफलको पेसी तोकेको छ। उक्त दिन विपक्षीहरूलाई निवेदनसँग सम्बन्धित निर्णय तथा आवश्यक कागजातसहित उपस्थित हुनसमेत आदेश दिइएको छ।
यसअघि शर्माले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयसमेतलाई विपक्षी बनाई दायर गरेको अर्को रिट निवेदन पनि उच्च अदालत पोखरामै विचाराधीन रहेको अदालतको आदेशमा उल्लेख छ। उक्त मुद्दासँग सम्बन्धित कागजातसमेत अन्तरिम आदेशसम्बन्धी छलफलका दिन अध्ययनका लागि पेस गर्न अदालतले निर्देशन दिएको छ।
अदालतको पछिल्लो आदेशसँगै प्रदेश सरकारको पदमुक्त गर्ने निर्णय तत्कालका लागि कार्यान्वयनमा रोक लागेको छ। यद्यपि यो अल्पकालीन अन्तरिम आदेश भएकाले मङ्सिर ७ गते हुने दुवै पक्षबीचको छलफलपछि यसको निरन्तरता र आगामी कानुनी प्रक्रिया तय हुनेछ।






