
फाईल तस्बिर
कार्तिक १९, पोखरा ।
प्रधानमन्त्री शाहले चाडपर्वका समयमा नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न तीनवटै सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्।
प्रधानमन्त्री शाहले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूसँग सुरक्षा अवस्थाबारे छुट्टाछुट्टै ब्रिफिङ लिँदै शान्ति–सुरक्षालाई थप प्रभावकारी बनाउन निर्देशन दिएका हुन्।
बैठकमा प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेल सहभागी थिए।
प्रधानमन्त्री शाहले तीनवटै सुरक्षा निकायबीच आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। उनले अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै नागरिकको सुरक्षामा कुनै कसर बाँकी नराख्न निर्देशनसमेत दिए।
चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि, चोरी, लुटपाट तथा अन्य सुरक्षा चुनौतीप्रति विशेष निगरानी राख्नुपर्ने उनको भनाइ थियो।
बैठकमा सुरक्षा निकायका प्रमुखहरूले चाडपर्व लक्षित सुरक्षा योजना, सुरक्षा व्यवस्थापन तथा देशको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।






