
तस्बिर एआई द्धारा निर्मित
१८ कार्तिक, पोखरा ।
यस वर्षको तिहार अर्थात् यमपञ्चकअन्तर्गत भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गर्दै साइत खोजेर टीका लगाउन चाहनेका लागि उक्त समय उत्तम रहेको जनाएको हो।
समितिका अध्यक्ष प्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार यस वर्ष भाइटीकाका लागि अभिजित मुहूर्तलाई आधार मानेर बिहान ११ः०७ बजेको समय निर्धारण गरिएको हो। यद्यपि भाइटीका लगाउन अनिवार्य रूपमा साइत नै कुर्नुपर्ने अवस्था नरहेको समितिले स्पष्ट पारेको छ। सर्वसाधारणले मध्याह्नकालमा आफ्नो अनुकूल समयमा टीका लगाउन सक्नेछन्। तर राज्य सञ्चालक तथा राष्ट्रका विशिष्ट पदाधिकारीका लागि भने निर्धारित साइतमै टीका लगाउनुपर्ने व्यवस्था रहेको समितिले जनाएको छ।
यस वर्षको यमपञ्चक कात्तिक २० गते शुक्रबार धनत्रयोदशी अर्थात् धनतेरस पर्वबाट सुरु हुनेछ। कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरी जयन्ती मनाइनेछ। त्यसैगरी कात्तिक २२ गते आइतबार नरक स्नानसहित कुकुर तिहार मनाइनेछ भने सोही दिन साँझ लक्ष्मीपूजा गरिनेछ।
तिथिको घटबढका कारण यस वर्ष काग तिहार, कुकुर तिहार र लक्ष्मीपूजाका दिनमा विशेष पात्रोअनुसार पर्व मनाउनुपर्ने अवस्था बनेको हो। कात्तिक २२ गते दिउँसो कार्तिक कृष्ण चतुर्दशी रहे पनि साँझ औँसी तिथि पर्ने भएकाले शास्त्रीय मान्यताअनुसार सोही दिन लक्ष्मीपूजा गर्नुपर्ने समितिको निर्णय छ। औँसी तिथिमा गरिने स्नान तथा दान भने कात्तिक २३ गते सोमबार बिहान गर्नुपर्ने जनाइएको छ।
कात्तिक २४ गते मंगलबार गाई, गोरु तथा आत्म (म्ह) पूजा गरिनेछ। नेवार समुदायमा विशेष महत्वका साथ मनाइने म्हपूजाका लागि यस वर्ष कात्तिक २४ गते नै उपयुक्त रहेको समितिले जनाएको छ। शास्त्रीय ग्रन्थ ‘कृत्यवाटिका’मा कार्तिक शुक्ल प्रतिपदाको साँझ आत्मपूजा गर्नुपर्ने उल्लेख भएकाले सोही आधारमा तिथि निर्धारण गरिएको अध्यक्ष भट्टराईले बताएका छन्। समितिबाट स्वीकृत पात्रोमा पनि यही मिति उल्लेख गरिएको छ।
यस वर्ष नेपाल संवत् ११४७ को नयाँ वर्ष पनि कात्तिक २४ गतेबाटै सुरु हुनेछ। शास्त्रीय मान्यताअनुसार प्रतिपदाका दिन सूर्योदय भएको दिनलाई नयाँ वर्षका रूपमा मनाउने परम्परा रहेकाले म्हपूजा र नेपाल संवत्को नयाँ वर्ष एकै दिन परेको हो। यसले नेवार समुदायका लागि यस वर्षको तिहारलाई थप विशेष बनाएको छ।
कात्तिक २५ गते बुधबार भाइटीका अर्थात् नेवारी भाषामा किजापूजा मनाइनेछ। दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता, स्नेह र पारिवारिक सम्बन्धलाई प्रगाढ बनाउने यो पर्व नेपाली समाजको महत्वपूर्ण सांस्कृतिक उत्सवका रूपमा स्थापित छ। यस दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका, माला तथा विभिन्न परिकार प्रदान गरी दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा छ। दाजुभाइले पनि दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिएर स्नेह प्रकट गर्ने चलन छ।
समितिका अध्यक्ष भट्टराईका अनुसार शास्त्रीय ग्रन्थमा ‘भ्रातृपूजा’ शब्द प्रयोग गरिएको छ, जसले दाजु र भाइ दुवैलाई समेट्छ। त्यसैले टीका लगाउँदा ज्येष्ठताको क्रमलाई ध्यान दिनुपर्ने धार्मिक मान्यता रहेको छ।
तिहारलाई यमपञ्चकका रूपमा मनाउने परम्परामा यमदीपदानको पनि विशेष महत्व छ। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मको अवधिमा परिवारका सदस्यको नाम उच्चारण गर्दै यमदीपदान गर्ने चलन छ। धार्मिक विश्वासअनुसार यसरी दीपदान गर्दा यमयातनाबाट मुक्ति मिल्ने तथा परिवारका सदस्यको कल्याण हुने मान्यता छ।
तिहारमा काग र कुकुरलाई मीठा परिकार खुवाउने परम्परा पनि छ। वैदिक मान्यतामा काग र कुकुरलाई यमदूतसँग जोडेर हेरिन्छ। उनीहरूलाई सम्मानपूर्वक भोजन गराउँदा यमलोकमा सहयोग प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। यसरी तिहारले धार्मिक आस्था, प्रकृतिप्रतिको सम्मान, पारिवारिक सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह गर्दै आएको छ।






