
२२ भदौ २०८३, पोखरा ।
पोखराको उद्योग, व्यापार तथा व्यवसायिक क्षेत्रको अग्रणी संस्था पोखरा उद्योग वाणिज्य संघले आफ्नो सात दशक लामो इतिहासमा नयाँ अध्याय थपेको छ । संघको ३६औँ अधिवेशनबाट शोभा गौतम अध्यक्षमा निर्वाचित भएसँगै संघको नेतृत्व पहिलोपटक महिलाको हातमा पुगेको हो ।
गौतमले अध्यक्ष पदका तीन पुरुष प्रतिस्पर्धी अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य र बलराम आचार्यलाई पछि पार्दै ऐतिहासिक जित हासिल गरेकी हुन ्। यससँगै लामो समयदेखि पुरुष नेतृत्वमा रहेको संघको बागडोर अब महिला नेतृत्वले सम्हाल्ने भएको छ । यसअघि विन्दु कोइराला र हीरा भट्टराईले अध्यक्ष पदका लागि प्रयास गरे पनि उनीहरू नेतृत्वमा पुग्न सफल भएका भने थिएनन्।
संघको महासचिवको जिम्मेवारी सम्हालिसकेकी गौतम अब अध्यक्षका रूपमा उद्योगी, व्यवसायी तथा उद्यमीहरूको साझा संस्था हाँक्ने जिम्मेवारीमा पुगेकी छन । उनले आफ्नो विजयलाई व्यक्तिगत उपलब्धि भन्दा पनि संघर्षशील महिला उद्यमीहरूको प्रतिनिधित्व र उनीहरूको आत्मविश्वासको विजयका रूपमा व्याख्या गरेकी छन ्।
गौतमको व्यावसायिक यात्रा भने आजको सफलताजस्तो सहज थिएन। करिब २६ वर्षअघि उद्योग वाणिज्य संघकै कार्यालयअगाडि सञ्चालन गरेको एउटा सानो चिया पसलबाट उनको उद्यमशील यात्राको सुरुवात भएको थियो। सामान्य व्यवसायबाट सुरु भएको त्यो यात्रा क्रमशः विस्तार हुँदै महेन्द्रपुलमा ‘पुष्पाञ्जली ब्युटी पार्लर’ स्थापना गर्ने अवस्थासम्म पुग्यो। पार्लर व्यवसायलाई समाजले सहज रूपमा स्वीकार नगरेको समयमा उनले सामाजिक धारणालाई चुनौती दिँदै आफ्नो व्यवसायलाई स्थापित गरिन्।
हाल उनी सुप्रिम सप्लायर्स मार्फत लुब्रिकेन्ट, फेसन, इभेन्ट, रेस्टुरेन्ट, कृषि तथा ग्रोसरी लगायत विभिन्न व्यवसायिक क्षेत्रमा सक्रिय छिन्। व्यवसायसँगै संस्थागत तथा सामाजिक क्षेत्रमा समेत उनले निरन्तर योगदान दिँदै आएकी छन्।
गौतम विसं २०७३ सालमा संघको साधारण सदस्यका रूपमा संस्थागत यात्रामा प्रवेश गरेकी थिइन्। तत्कालीन अध्यक्ष पवनकुमार प्रजापतिको प्रेरणाबाट संघमा आबद्ध भएकी उनी क्रमशः कार्यसमिति सदस्य, उपमहासचिव हुँदै महासचिवको जिम्मेवारीमा पुगेकी हुन्। संघभित्रको लामो अनुभव, व्यवसायिक दक्षता र संस्थागत सक्रियताले नै उनलाई अध्यक्षको प्रतिस्पर्धासम्म पु¥याएको हो।
संघबाहेक मानव सेवा आश्रम, लायन्स क्लब तथा विभिन्न सामाजिक संस्थामार्फत पनि गौतमले सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन्। उनी पदलाई अधिकार प्रदर्शन गर्ने माध्यमभन्दा सेवा र जिम्मेवारी निर्वाह गर्ने अवसरका रूपमा लिने नेतृत्वकर्ताका रूपमा परिचित छिन्।

यसपटकको अधिवेशनमा उनले ‘सुदृढ संघ, सक्षम नेतृत्व’ भन्ने नारासहित १४ बुँदे प्रतिबद्धता सार्वजनिक गरेकी थिइन्। संघलाई सम्पूर्ण उद्योगी–व्यवसायीको साझा घरका रूपमा स्थापित गर्ने उनको प्रमुख लक्ष्य छ । कृषि तथा पर्यटन प्रवर्धन, युवा उद्यमशीलताको विकास र महिला उद्यमीको सशक्तीकरणलाई उनले प्राथमिकतामा राखेकी छन्।
त्यसैगरी वित्तीय साक्षरता विस्तार, सीप विकास, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि पहल, न्युरोड क्षेत्रको पार्किङ समस्या समाधान तथा स्थानीय उत्पादनको प्रवर्धन उनका प्रमुख एजेन्डा हुन्। ‘मेड इन पोखरा’ अभियानलाई थप प्रभावकारी बनाउँदै स्थानीय उत्पादनलाई बजारसँग जोड्ने र व्यवसायीमैत्री नीति निर्माणका लागि राज्यसँग निरन्तर पैरवी गर्ने उनको प्रतिबद्धता छ।
गौतम विगतमा जिआईजेडको वित्तीय साक्षरता कार्यक्रम तथा छेन्दु–पोखरा उडान समन्वय जस्ता महत्वपूर्ण जिम्मेवारीमा समेत सक्रिय रहेकी थिइन्। त्यसैले पनि उनको नेतृत्वलाई केवल पद परिवर्तनका रूपमा नभई संघको कार्यशैली र प्राथमिकतामा परिवर्तन ल्याउने अवसरका रूपमा हेरिएको छ।
‘तपाईंहरूको विश्वास मेरो जिम्मेवारी हो’ भन्ने प्रतिबद्धतासहित नेतृत्वमा पुगेकी गौतमसामु अब निर्वाचनका क्रममा व्यक्त गरिएका प्रतिबद्धतालाई व्यवहारमा रूपान्तरण गर्ने चुनौती छ। उनको नेतृत्वमा पोखरा उद्योग वाणिज्य संघले महिला सहभागिता, उद्यमशीलता, स्थानीय उत्पादन र व्यवसायीका साझा सवाललाई थप प्रभावकारी रूपमा उठाउने अपेक्षा गरिएको छ।





