
१२ भदौ, पोखरा
रसुवालगायत जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि गण्डकी प्रदेश सरकारले ४ करोड रुपैयाँ सहयोग गर्ने भएको छ। प्रदेश सरकारले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उपलब्ध गराउने निर्णय गरेको हो।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार सार्वजनिक गरेको अपिलमार्फत विपद्मा परेका नागरिकको उद्धार र राहतमा प्रदेश सरकार आफ्नो सामथ्र्यअनुसार सक्रिय रूपमा परिचालित हुने प्रतिबद्धता जनाएका हुन्। उनले बाढीबाट ठूलो जनधनको क्षति भएको रसुवासहित प्रभावित जिल्लाका नागरिकको दुःखमा गण्डकी प्रदेश सरकार र प्रदेशवासी साथमा रहेको बताए।
रसुवामा आएको बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट धार्मिक तथा अन्य प्रयोजनका लागि यात्रा गरी रसुवा र नुवाकोट पुगेका केही नागरिकसमेत सम्पर्कविहीन भएको खबरले चिन्ता थपिएको बताए।
उनका अनुसार सम्पर्कविहीन नागरिकको खोजी, उनीहरूको अवस्थाबारे जानकारी प्राप्त गर्ने तथा फेला परेका शवको पहिचान र उचित व्यवस्थापनका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको छ। प्रदेश सरकारले आफ्नो क्षेत्रबाट खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक पहल गरिरहेको उनले जानकारी दिए।
मुख्यमन्त्री पाण्डेले विपद्को यस कठिन घडीमा जोखिममा रहेका नागरिकको तत्काल उद्धार, घाइतेको उपचार तथा आश्रयविहीनका लागि खाद्यान्न र आवश्यक आधारभूत सामग्रीको व्यवस्था गर्न सम्बन्धित सबै निकायलाई प्रभावकारी रूपमा परिचालित हुन आग्रह गरेका छन्।
उनले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपुरलगायत क्षेत्रमा देखिएको विपद् कुनै एक जिल्ला वा प्रदेशको मात्र समस्या नभई सम्पूर्ण नेपालीको साझा पीडा भएको बताए। विपद्का बेला पीडित नागरिकको साथमा उभिनु राज्यसँगै हरेक नागरिकको मानवीय दायित्व भएको उनको भनाइ छ।
राहत तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाउन उद्योगी, व्यवसायी, राजनीतिक दल, नागरिक समाज, गैरसरकारी क्षेत्र तथा राष्ट्रसेवक कर्मचारीलाई आ–आफ्नो स्थानबाट सहयोग र सहभागिता जनाउन मुख्यमन्त्री पाण्डेले अपिल गरेका छन्। संकटको समयमा सहयोगका हातहरू फैलिँदा पीडित परिवारलाई राहतसँगै मनोबलसमेत प्राप्त हुने उनले बताए।
बाढीपछि सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा फैलिन सक्ने अपुष्ट सूचना र अफवाहप्रति समेत मुख्यमन्त्री पाण्डेले सचेत रहन आग्रह गरेका छन्। उनले आधिकारिक तथा विश्वसनीय स्रोतबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन र अपुष्ट सूचना सम्प्रेषण नगर्न सबैमा अनुरोध गरेका छन्।
‘विपद्मा परेका नागरिकको जीवनरक्षा हाम्रो पहिलो प्राथमिकता हो,’ मुख्यमन्त्री पाण्डेले भने। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै थप मानवीय क्षति हुन नदिन राज्यका सबै निकाय, राजनीतिक दल, सामाजिक संघसंस्था र आमनागरिक एकजुट भएर विपद्को सामना गर्नुपर्नेमा जोड दिए।
उनले बाढीबाट प्रभावित सम्पूर्ण नागरिकको शीघ्र उद्धार, घाइतेको प्रभावकारी उपचार तथा सम्पर्कविहीन नागरिकको सफल खोजीको कामना गर्दै विपद्को सामना गर्न प्रदेश सरकार आवश्यक सहयोग र समन्वयमा निरन्तर सक्रिय रहने प्रतिबद्धता दोहो¥याएका छन्।





