बाढीपछि १२ हजार मानिस सम्पर्कविहीनको सूचीमा, वास्तविक संख्या यकिन गर्न प्राविधिक टोली सक्रिय

-


     केन्द्रीय आवाज    
     भाद्र १२ गते २०८३ मा प्रकाशित


१२ भदौ, पोखरा ।
नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशीलगायत नदीमा आएको आकस्मिक बाढीले जनधनमा ठूलो क्षति पु¥याएसँगै हजारौँ मानिस सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको छ। बाढी प्रभावित क्षेत्रमा रहेका आफन्तसँग सम्पर्क हुन नसकेपछि करिब १२ हजार मानिसको खोजीका लागि आफन्तजनले सरकारसँग औपचारिक अनुरोध गरेका छन्।

शुक्रबार मध्यान्हसम्म ‘सेतु ¥यापिड’ एपमा सम्पर्कविहीन आफन्तको खोजी तथा सहयोगका लागि १ हजार ५ सय ६७ वटा अनुरोध फाराम दर्ता भएका छन्। ती फाराममा आफूहरूसँग सम्पर्कमा नरहेका करिब १२ हजार मानिसको खोजी गरिदिन आग्रह गरिएको छ। अनुरोध दर्ता भएकामध्ये १ सय ४४ जना भने पुनःसम्पर्कमा आइसकेको बताइएको छ।

तर फाराममा उल्लेख भएको १२ हजारको संख्या नै वास्तविक सम्पर्कविहीनको संख्या हो भन्ने यकिन भइसकेको छैन। एउटै व्यक्तिको खोजीका लागि परिवारका एकभन्दा बढी सदस्यले फाराम भरेको हुनसक्ने भएकाले तथ्यांकमा दोहोरोपन हुन सक्ने प्राधिकरणको आकलन छ। त्यसैले प्राप्त विवरणको प्रमाणीकरण गर्दै वास्तविक सम्पर्कविहीनको संख्या छुट्याउने कामलाई प्राथमिकता दिइएको छ।

बाढी प्रभावित नागरिकलाई आवश्यक स्थानमा छिटो उद्धार तथा राहत पु¥याउने उद्देश्यले सरकारले उद्धारकर्मी, कमान्ड केन्द्र र फिल्डमा परिचालित सवारीसाधनलाई एउटै लाइभ नक्सामा जोड्ने गरी ‘सेतु ¥यापिड’ एप सञ्चालनमा ल्याएको हो। यही प्रणालीमा रहेको अनुरोध फाराममार्फत प्राप्त विवरणलाई आधार बनाएर सम्पर्कविहीन नागरिकको खोजी अघि बढाइएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्पर्कविहीनको वास्तविक संख्या पत्ता लगाउन स्याटेलाइट प्रविधि, मोबाइल नेटवर्क र प्राप्त अनुरोध फारामलाई एकीकृत रूपमा विश्लेषण गरिरहेको छ। बाढी प्रभावित क्षेत्रका घरधुरीको संख्या स्याटेलाइटबाट पहिचान गरी मोबाइल नेटवर्कमा रहेका प्रयोगकर्ताको विवरणसँग तुलना गर्ने प्रयास भइरहेको छ।

बाढी आउनुअघि नेटवर्कमा सक्रिय रहेका मोबाइल प्रयोगकर्ताको विवरण निकालेर हाल सम्पर्कमा नआएका व्यक्तिको पहिचान गर्न नेपाल टेलिकम र एनसेलका प्राविधिक कर्मचारीले प्राधिकरणसँग समन्वय गरिरहेका छन्। अनुरोध फाराममा हुनसक्ने दोहोरो विवरण हटाउने कामसमेत भइरहेको छ। नेपाली मोबाइल नम्बर प्रयोग नगरेका विदेशी नागरिकको खोजीमा भने नेटवर्क ट्र्याकिङ कठिन देखिएको प्राविधिकहरूले बताएका छन्।

उद्धार तथा राहत व्यवस्थापनका लागि विभिन्न मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिसहित राज्यका विभिन्न निकायबीच प्राधिकरणमार्फत समन्वय भइरहेको छ।

यसैबीच बाढीका कारण अवरुद्ध भएको सञ्चार सेवा पुनः सञ्चालन गर्न नेपाल टेलिकम र एनसेलले मर्मत तथा पुनःस्थापनाको काम तीव्र बनाएका छन्। रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा जेनेरेटर तथा सोलार प्रणालीसहितका पोर्टेबल मोबाइल टावर सञ्चालनमा ल्याइएको छ।

नेपाल टेलिकमका अनुसार बाढीबाट प्रभावित देखिएका १ सय ५२ साइटमध्ये ९२ वटा सञ्चालनमा आइसकेका छन् भने ६० वटा अझै सञ्चालनमा आउन बाँकी छन्। चितवनका ५ मध्ये ३, धादिङका ३६ मध्ये १३, नुवाकोटका ७९ मध्ये ३१ र रसुवाका ३२ मध्ये १३ साइट सञ्चालनमा आएका छन्।

एनसेलले पनि नुवाकोटका ८ तथा रसुवा र धादिङका ३–३ साइट सञ्चालनमा ल्याएको जनाएको छ। बट्टार, विदुर, खल्ते, देउराली, शिवालय डाँडा, सुनौला बजार, खड्का भञ्ज्याङ, महामण्डल र खल्चेत भञ्ज्याङलगायतका क्षेत्रमा सेवा पुनः सञ्चालनमा आएको छ। बट्टार बजार, भूमिडाँडा, पिपलटार, गोलजुङ र गतलाङका साइटसमेत मर्मतपछि सञ्चालनमा ल्याइएको छ।

प्रधानमन्त्री शाहको सचिवालयका अनुसार प्रभावित क्षेत्रमा ब्याकअप प्रणालीमार्फत विद्युत् आपूर्ति व्यवस्थासमेत मिलाइएको छ। सञ्चार सञ्जाल पूर्ण रूपमा पुनःस्थापित भएपछि नेटवर्कबाहिर रहेका नागरिकको विवरण थप स्पष्ट हुने र स्याटेलाइट, मोबाइल नेटवर्क तथा अन्य स्रोतबाट प्राप्त तथ्यांक मिलाएर सम्पर्कविहीनको वास्तविक संख्या यकिन गर्न सकिने प्राधिकरणको अपेक्षा छ।