
बेलायतमा अथाह सम्पत्ति भएको भन्दै विवाहको प्रलोभन देखाउने अपरिचित व्यक्तिको विश्वासमा पर्दा कास्कीकी एक महिलाले ३१ लाख रुपैयाँ गुमाएकी छन्।
फेसबुकबाट सुरु भएको चिनजान केही समयमै प्रेम र विवाहको प्रस्तावमा परिणत भयो। बेलायतको कोड भएको ह्वाट्सएप नम्बर प्रयोग गर्ने ती व्यक्तिले आफू अविवाहित रहेको र बेलायतमा ठूलो सम्पत्ति रहेको बताएका थिए। उनले आफू बेलायतको सम्पत्ति बेचेर नेपाल आउन लागेको, नेपालमै घरजग्गा किनेर ती महिलासँगै जीवन बिताउने आश्वासन दिएका थिए। विश्वास दिलाउन उनले विमानस्थलका भिडियो पठाउने र भिडियो कलसमेत गर्ने गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।तर कथा त्यतिबेला बदलियो, जतिबेला ती व्यक्तिले आफू भारत हुँदै नेपाल आउन लागेको जानकारी दिए। त्यसपछि भारतीय प्रहरीको पोसाक लगाएको प्रोफाइल तस्बिर राखिएको अर्को ह्वाट्सएप नम्बरबाट महिलालाई फोन आयो।फोन गर्ने व्यक्तिले उनका ‘साथी’ ठूलो परिमाणको नगद र सम्पत्तिसहित पक्राउ परेको दाबी गर्दै उनलाई छुटाउन भन्सार र जरिवानाबापत तत्काल रकम आवश्यक पर्ने बताए। आफ्नो भावी श्रीमान् समस्यामा परेको ठानेर महिलाले सुरुमा पटक–पटक गरी ९ लाख रुपैयाँ पठाइन्।
रकम पठाइसकेपछि शंका लागेपछि उनी जिल्ला प्रहरी कार्यालय कास्की पुगिन्। प्रहरीले अनुसन्धानपछि यो ठगी भएको भन्दै अब कुनै पनि रकम नपठाउन उनलाई स्पष्ट चेतावनी दियो। तर ठगको भावनात्मक जालबाट उनी तत्काल बाहिरिन सकिनन्।ठगले ‘म अब छुट्दैछु, बाँकी २२ लाख दिएपछि सबै सम्पत्ति लिएर तिमीकहाँ आउँछु’ भन्दै उनलाई पुनः विश्वासमा पारे। प्रहरीको चेतावनी हुँदाहुँदै उनले फेरि २२ लाख रुपैयाँ पठाइन्। यसरी ती महिलाले जम्मा ३१ लाख रुपैयाँ गुमाइन्। भारतीय प्रहरीसँगको समन्वय तथा थप अनुसन्धानबाट आफूले विश्वास गरेको व्यक्ति अपराधी भएको पुष्टि भएपछि मात्र उनले आफू ठगीमा परेको यथार्थ स्वीकार गरेकी थिइन्।
ठगीको शैली फेरिँदै
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वीरेन्द्र पासवानका अनुसार यो घटना अनलाइन ठगीका बदलिँदा स्वरूपमध्ये एउटा उदाहरण मात्र हो। पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न बहानामा सर्वसाधारणलाई ठगी गर्ने गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ। फेसबुक तथा टिकटकमा अत्यन्तै सस्तो मूल्यमा सामान उपलब्ध गराउने विज्ञापन राख्ने, अर्डर गरेपछि ‘पैसा आएन’ भन्दै स्क्रिन सेयर गर्न लगाउने र मोबाइलमा आएको ओटीपी प्रयोग गरी बैंक खाताबाट रकम निकाल्ने गरिएको पाइएको छ।
त्यस्तै, आफन्त वा साथीको फेसबुक तथा ह्वाट्सएप अकाउन्ट ह्याक गरी ‘म समस्यामा छु, तुरुन्तै पैसा पठाइदिनू’ भन्दै रकम माग्ने घटना पनि बढिरहेका छन्। विदेश पठाइदिने भन्दै आकर्षक मुलुकको प्रलोभन देखाउने, नक्कली कागजात बनाउने र प्रोसेसिङका नाममा मोटो रकम असुल्ने गिरोह पनि सक्रिय रहेको प्रहरीले जनाएको छ।बैंक, ई–सेवा वा खल्तीका कर्मचारी बनेर केवाईसी अपडेटको बहाना गर्ने, ओटीपी माग्ने र खाताबाट रकम स्थानान्तरण गर्ने प्रवृत्तिसमेत बढिरहेको छ।त्यसैगरी सुरुमा सानो रकम लगानी गराएर दोब्बर रकम फिर्ता दिई विश्वास जित्ने र पछि लाखौँ रुपैयाँ लगानी गर्न लगाएर सम्पर्कविहीन हुने नक्कली लगानी योजना तथा अनलाइन बेटिङसमेत ठगीका माध्यम बनेका छन्।
‘प्रलोभन नै ठगीको पहिलो संकेत हुन सक्छ’
सूचना अधिकारी पासवानले सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले दिने कुनै पनि प्रकारको प्रलोभनमा नपर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।‘थोरै लगानीमा धेरै नाफा, महँगो सामान अत्यन्तै सस्तोमा पाउने वा अपरिचित व्यक्तिले विवाह, प्रेम र सम्पत्तिको प्रलोभन देखाउनु ठगीको पहिलो संकेत हुन सक्छ,’ उनले भने।प्रहरीले सर्वसाधारणलाई आफ्नो बैंक खाता, पासवर्ड, पिन नम्बर तथा ओटीपी कसैलाई पनि नदिन आग्रह गरेको छ।शंकास्पद लिंक नखोल्न, अनधिकृत एप डाउनलोड नगर्न र अनलाइन कारोबार गर्नुअघि सम्बन्धित व्यक्ति वा संस्थाको आधिकारिकता जाँच गर्न पनि प्रहरीले अनुरोध गरेको छ।प्रेम, विवाह, विदेश, रोजगारी वा ठूलो आर्थिक लाभको प्रलोभन देखाउने अपरिचित व्यक्तिमाथि तत्काल विश्वास नगर्नु नै अनलाइन ठगीबाट जोगिने पहिलो उपाय भएको प्रहरीको भनाइ छ।ठगी भएको आशंका भएमा ढिला नगरी नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न कास्की प्रहरीले सर्वसाधारणलाई अपिल गरेको छ।





