प्रधानमन्त्री साह द्वारा ७ विश्वविद्यालयमा नयाँ नेतृत्व चयन

-


     केन्द्रीय आवाज    
     असार १९ गते २०८३ मा प्रकाशित


असार १९,पोखरा

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र साहले मुलुकका सात वटा विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गरेका छन्। खुला प्रतिस्पर्धामार्फत छनोट तथा सिफारिस समितिले सिफारिस गरेका उम्मेदवारलाई शुक्रबार उपकुलपतिमा नियुक्त गरिएको हो।

शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित छनोट तथा सिफारिस समितिले आवेदन दिएका उम्मेदवारहरूको योग्यता, अनुभव र कार्ययोजनाको मूल्यांकन गरी अन्तिम नामावली सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा प्रधानमन्त्री शाहले नियुक्तिको निर्णय गरेका हुन्।

नियुक्त भएका उपकुलपतिहरूमध्ये त्रिभुवन विश्वविद्यालयको नेतृत्व डा. भोला थापाले पाएका छन् भने सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट नियुक्त भएका छन्। मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा राजन सुवाल चयन भएका छन्।

त्यसैगरी कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी तथा पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा उपकुलपति नियुक्त भएका छन्।

सरकारले यसपटक विश्वविद्यालय नेतृत्व चयनमा राजनीतिक भागबण्डाको अभ्यासलाई अन्त्य गर्दै खुला प्रतिस्पर्धा, योग्यता र कार्यक्षमताका आधारमा नियुक्ति गरिएको जनाएको छ। यसअघि विश्वविद्यालयहरूमा हुने राजनीतिक नियुक्तिको व्यापक आलोचना हुँदै आएको थियो।

छनोट समितिले लामो समय लगाएर उम्मेदवारहरूको शैक्षिक योग्यता, प्रशासनिक अनुभव तथा भावी कार्ययोजनाको मूल्यांकन गरेको जनाएको छ। नयाँ नियुक्त उपकुलपतिहरूले आगामी सातादेखि औपचारिक रूपमा कार्यभार सम्हाल्ने तयारी गरेका छन्।

सरकारले विश्वविद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि, सुशासन सुदृढीकरण तथा अनुसन्धान र नवप्रवर्तनलाई गति दिने अपेक्षासहित नयाँ नेतृत्व चयन गरिएको जनाएको छ। नियुक्त उपकुलपतिहरूको कार्यसम्पादनले उच्च शिक्षाको गुणस्तर सुधार र विश्वविद्यालय प्रशासनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।