मदनकृष्ण श्रेष्ठको जीवनकथामा चलचित्र निर्माण हुने, शीर्ष भूमिकामा महेश त्रिपाठी

-


     केन्द्रीय आवाज    
     असार ९ गते २०८३ मा प्रकाशित


पोखरा, ९ असार
नेपाली कला र रंगमञ्चका अग्रणी व्यक्तित्व मदनकृष्ण श्रेष्ठ को जीवनकथामा आधारित जीवनीपरक चलचित्र निर्माण हुने भएको छ। चर्चित निर्देशक मिलन चाम्स ले निर्देशन गर्ने यस चलचित्रमा पोखराका अभिनेता महेश त्रिपाठी र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा देखिने भएका छन्।
चलचित्रमा त्रिपाठीले मदनकृष्ण श्रेष्ठको युवावस्था र संघर्षपूर्ण कलात्मक यात्रालाई जीवन्त बनाउनेछन् भने स्वर्गीय यशोदा सुवेदीको भूमिकामा केकी अधिकारी प्रस्तुत हुनेछन्। चलचित्रले श्रेष्ठको प्रेरणादायी जीवन, उतारचढाव र कलात्मक योगदानलाई संवेदनशील ढंगले पर्दामा उतार्ने लक्ष्य लिएको छ।


यसअघि ‘बबी’, ‘ब्लाइन्ड रक्स’ र ‘अञ्जिला’ जस्ता जीवनीपरक चलचित्रमार्फत आफ्नो छुट्टै पहिचान बनाइसकेका निर्देशक चाम्सले यस परियोजनालाई विशेष महत्वका साथ अघि बढाएका छन्। ‘हल्कारा’, ‘परान’ र ‘लाज शरणम्’ जस्ता चलचित्रमा प्रभावशाली अभिनय प्रस्तुत गरिसकेका त्रिपाठीलाई मदनकृष्णको भूमिकाका लागि चयन गरिनु चलचित्रको थप आकर्षण मानिएको छ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठको बाल्यकालदेखि समाजमा विद्यमान जातीय विभेदबीच सम्पन्न भएको अन्तरजातीय विवाह, पत्नी यशोदा सुवेदीको क्यान्सरसँगको पीडादायी संघर्ष, तथा हरिबंश आचार्य सँगको ऐतिहासिक सहकार्य ‘महजोडी’ को स्वर्णिम यात्रा मुख्य कथावस्तुका रूपमा प्रस्तुत गरिनेछ।
निर्देशक चाम्सका अनुसार चलचित्रले मदनकृष्ण श्रेष्ठको जीवनका विविध आयाम, कला साधना र सामाजिक योगदानलाई न्याय गर्ने गरी निर्माण गरिनेछ। हाल चलचित्रको प्राविधिक तयारी तथा छायांकन पूर्वका कार्यहरू तीव्र गतिमा अगाडि बढाइएको जानकारी दिइएको छ।
यो चलचित्रले नेपाली दर्शकमाझ गहिरो भावनात्मक प्रभाव छोड्दै प्रेरणादायी सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।