
पोखरा, जेठ २४
कास्कीका पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले चारदिने अनुसन्धानमूलक लेख लेखन तालिम आजदेखि पोखरामा सुरु भएको छ।
नेपाल पत्रकार महासंघ कास्की शाखाको आयोजनामा तथा पोखरा महानगरपालिकाको सहयोगमा सञ्चालन भएको उक्त तालिम पहिलो पटक आयोजना गरिएको हो।

कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नुभएको थियो। उद्घाटनपछि शुभकामना मन्तव्य व्यक्त गर्दै उहाँले पत्रकारका लागि यस्ता तालिमहरू सधैँ आवश्यक रहने उल्लेख गर्दै सिकाइ र अध्ययनको प्रक्रिया कहिल्यै समाप्त नहुने धारणा राख्नुभयो।
तालिममा त्रिभुवन विश्वविद्यालयका पत्रकारिता विषयका प्राध्यापकहरू डा. कुन्दन अर्याल, डा. श्रीराम पौडेल र डा. कपिल अधिकारीले प्रशिक्षण दिनु भएकोे छ । उहाहरुले चार दिन सम्म अनुसन्धानमूलक पत्रकारिता, तथ्य संकलन, विश्लेषण तथा प्रभावकारी लेखनका विविध पक्षमा सहजीकरण गर्नु हुनेछ ्।

महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा सहसचिव धनबहादुर गुरुङ (सुमन) ले सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष माधव रेग्मीले स्वागत मन्तव्य राख्नुभएको थियो।

आजदेखि सुरु भएको तालिममा कास्कीका दर्जनौ क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको छ भने तालिम यही जेठ २७ गतेसम्म सञ्चालन हुनेछ। तालिम हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म नेपाल पत्रकार महासंघ कास्कीको तालिम हलमा सञ्चालन हुने कार्यक्रम छ।







