तीर्थ कूटनीतिमा सरकारको जोड: पशुपतिनाथदेखि मुक्तिनाथसम्म पर्यटन प्रवर्द्धन गरिने

-


     केन्द्रीय आवाज    
     वैशाख २९ गते २०८३ मा प्रकाशित


काठमाडौँ, बैशाख २९
सरकारले आध्यात्मिक तीर्थ कूटनीतिमार्फत नेपालका प्रमुख धार्मिक क्षेत्रहरूको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने नीति अघि सारेको छ।
रामचन्द्र पौडेल ले सोमबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पशुपतिनाथ मन्दिर, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ मन्दिर लगायतका प्रमुख धार्मिक गन्तव्यहरूको पर्यटन प्रवर्द्धन गरिने उल्लेख गरिएको छ।
नीति तथा कार्यक्रममा नेपाललाई धार्मिक, सांस्कृतिक, आरोग्य, अध्ययन, चलचित्र, आध्यात्मिक तथा अवकाश पर्यटनको उदाउँदो गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
स्थानीय स्तरमा पर्यटनको लाभ पुर्‍याउन समुदायमा आधारित घरबास (होमस्टे) कार्यक्रमलाई विस्तार गरिनेछ। स्थानीय कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै सीमान्तकृत तथा दलित समुदायको आयआर्जन वृद्धि गर्ने र रोजगारी सिर्जना गर्ने योजना पनि अघि सारिएको छ।
साथै, ‘जीवित सङ्ग्रहालय’ को अवधारणालाई कार्यान्वयन गर्दै कम्तीमा पाँच हजार नयाँ होमस्टेलाई ‘नेपाल होमस्टे’ ब्रान्डिङसहित डिजिटल बुकिङ प्लेटफर्ममा आबद्ध गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
सरकारको यो पहलले धार्मिक पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुका साथै स्थानीय अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।