
२६ बैशाख, पोखरा
नववर्ष २०८३ को पावन अवसर पारेर नेपाल फोटोग्राफर महासंघको आयोजनामा पोखरामा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। देशभर एकैसाथ क्यालेन्डर विमोचन गर्ने महासंघको सर्कुलर अनुरूप पोखरामा पनि उत्साहपूर्ण सहभागितासहित कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम फोटोग्राफर संघ गण्डकीको आयोजनामा सम्पन्न भएको थियो। संघका अध्यक्ष नारायण बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा द्धितीय उपाध्यक्ष जीवन ढुङ्गानाले सञ्चालनको जिम्मेवारी सम्हालेका थिए।
स्थानीय सहकार्य संस्थाको रूपमा पोखरा फोटोग्राफर संघका अध्यक्ष भक्त बहादुर तमाङले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रममा सहभागी सबैलाई स्वागत गरेका थिए। कार्यक्रममा सल्लाहकार गणेश छवी लगायतका वक्ताहरूले नववर्षको शुभकामना व्यक्त गर्दै फोटोग्राफी क्षेत्रको समग्र विकासका लागि आपसी एकता, सहकार्य र पेशागत प्रतिबद्धताको खाँचो औंल्याएका थिए।
महासंघका सचिव तुलसी राम सुबेदीले महासंघद्वारा प्रकाशित क्यालेन्डर देशभर एकैसाथ विमोचन गरिएको जानकारी दिँदै यसले फोटोग्राफर समुदायलाई थप एकीकृत बनाउने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै, उपाध्यक्ष दुर्गा प्रसाद पौडेलले २०७५ सालमा स्थापना भएको महासंघले पहिलो पटक क्यालेन्डर प्रकाशन गर्न सफल भएको उल्लेख गर्दै यसलाई ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गर्नुभयो।
महासंघका बरिष्ठ उपााध्यक्ष श्रीराम कंडेलको संयोजकत्वमा प्रकाशन भएको क्यालेन्डरको सह संयोजक उपाध्यक्ष दुर्गा प्रसाद पौडेल रहनु भएको थियो ।
कार्यक्रममा पोखरा र गण्डकी प्रदेशका फोटोग्राफरहरुको उल्लेखनीय उपस्थिति रहेको थियो भने आपसी शुभकामना आदानप्रदानसँगै पेशागत सम्बन्ध अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको थियो।











