
फाईल तस्बिर
काठमाडौं, २७ चैत
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको आर्थिक समृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका अत्यन्तै निर्णायक रहने बताएका छन् । उनले सरकार र निजी क्षेत्रबीच सुदृढ सहकार्य र साझेदारी अपरिहार्य रहेकोमा जोड दिएका छन ्।
नेपाल चेम्बर अफ कमर्सको ७५औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले आर्थिक विकासको मूल आधार व्यापार–व्यवसाय र उद्योगधन्दाको प्रवद्र्धन भएको उल्लेख गर्दै यसका लागि सरकार र निजी क्षेत्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।
उनले आर्थिक समृद्धि संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने प्रमुख आधार भएको उल्लेख गर्दै जनअपेक्षाअनुसार विकास र समृद्धि हासिल गर्न सबै सरोकारवालाहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।
राष्ट्रपति पौडेलले भने, “प्रतिनिधिसभा निर्वाचनमार्फत स्थापित संसद् र सरकारले सुशासनमार्फत आर्थिक समृद्धिको मार्गलाई थप स्पष्ट बनाएको छ। सेवा प्रवाहलाई झन्झटरहित बनाउने, जनजीवनस्तर उकास्ने योजनाहरू कार्यान्वयन गर्ने तथा राष्ट्रनिर्माणका दायित्व पूरा गर्ने सन्दर्भमा निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य छ।”
राजनीतिक स्थायित्व आर्थिक विकासको आधारस्तम्भ भएको उल्लेख गर्दै उनले स्पष्ट नीति, दिगो रणनीति र लगानीमैत्री वातावरणबिना औद्योगिक विस्तार र रोजगारी सिर्जना सम्भव नहुने बताए। स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नु आजको प्रमुख आवश्यकता भएको उनले औंल्याए ।
“आजका युवा राष्ट्रका भविष्य हुन्। उनीहरूलाई स्वदेशमै अवसर उपलब्ध गराउन सके देशलाई समृद्धिको दिशामा अघि बढाउन सहज हुन्छ,” राष्ट्रपति पौडेलले भने।
उनले संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै प्रतिस्पर्धात्मक विश्व परिवेशमा परम्परागत सोचभन्दा माथि उठेर नवप्रवर्तन, प्रविधिमैत्री उद्यमशीलता र साहसिक निर्णय आवश्यक भएको धारणा व्यक्त गरे। डिजिटल अर्थतन्त्र, हरित विकास, स्टार्टअप संस्कृति र नवप्रवर्तनलाई प्रोत्साहन गर्नु आजको अपरिहार्य आवश्यकता भएको उनको भनाइ थियो।
राष्ट्रपति पौडेलले निजी क्षेत्रलाई केवल कर तिर्ने निकायको रूपमा मात्र नहेरी राष्ट्रनिर्माणको महत्वपूर्ण साझेदारका रूपमा स्वीकार गर्नुपर्नेमा पनि जोड दिए।
कार्यक्रममा उनले मुलुकको आर्थिक समृद्धि, लगानीमैत्री वातावरण निर्माण तथा उद्यमशीलताको प्रवद्र्धनमा नेपाल चेम्बर अफ कमर्सले खेलेको भूमिकाको सराहना गरे।
चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले सरकार र निजी क्षेत्रबीच अपेक्षित समन्वय अभाव हुँदा अर्थतन्त्रले गति लिन नसकेको उल्लेख गर्दै सुधारका धेरै क्षेत्र रहेको बताए। उनले अर्थतन्त्र सुदृढीकरणका लागि सरकारसँग सहकार्य गर्दै आएको र आगामी दिनमा पनि निरन्तर समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे।
वरिष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्राले प्रविधिमा आधारित व्यवसाय विस्तार गर्न र युवालाई नवप्रवर्तनतर्फ आकर्षित गर्न विशेष पहल आवश्यक रहेको बताए। उनले विदेशी लगानी आकर्षित गर्न अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै राजनीतिक स्थायित्वसँगै औद्योगिक विकासले गति लिने विश्वास व्यक्त गरे।




