मनोज घर्तीमगरका दुई अनुसन्धानमूलक कृति बजारमा

-


     केन्द्रीय आवाज    
     चैत्र २५ गते २०८२ मा प्रकाशित


पोखरा, चैत २५
लेखक, इतिहासकार तथा अधिवक्ता मनोज घर्तीमगर द्वारा लिखित दुई महत्वपूर्ण अनुसन्धानमूलक कृति हालै बजारमा सार्वजनिक भएका छन्। ‘‘मगर जातिको इतिहास’’ र “भर्तीको फन्दा” नामक पुस्तकहरूको नवीन संस्करण प्रकाशनसँगै पाठक माझ आएका हुन्।
‘‘मगर जातिको इतिहास’’ शीर्षक कृति इतिहास तथा संस्कार–संस्कृतिका दुई मुख्य खण्डमा विभाजित १७६ पृष्ठको समग्र अध्ययनमूलक ग्रन्थ हो। यस पुस्तकमा मगर जातिको परिचय, प्राचीनता, उत्पत्ति, नामाकरणको आधार, मगरात क्षेत्र, मूल थलो, ऐतिहासिक राज्य र शासकहरू, थर–उपथर, भाषा, धर्म तथा विविध सांस्कृतिक संस्कारहरू (पूजा, कर्म, विवाह) लगायत लोकबाजा र परम्परागत जीवनशैलीका विविध पक्ष समेटिएका छन्। उक्त कृतिको प्रकाशन हङकङ निवासी कविता थापामगरले गरेकी हुन्।
यसैगरी, २०७१ सालमा पहिलोपटक प्रकाशित “भर्तीको फन्दा” पुस्तकको परिमार्जित दोस्रो संस्करण पनि बजारमा उपलब्ध भएको छ। पिपलटुङ रिसर्च एण्ड डेभलपमेन्ट हब, ललितपुरद्वारा प्रकाशित २६० पृष्ठको यो कृति गोर्खा सैनिक भर्तीको इतिहासमा केन्द्रित रहे पनि यसले नेपाली समाजको व्यापक आयामलाई समेट्ने प्रयास गरेको छ।
प्रकाशन संस्थाकी अध्यक्ष माया रोकामगरका अनुसार, “भर्तीको फन्दा” केवल गोर्खा भर्तीको ऐतिहासिक विवरणमा सीमित नरही मगर, गुरुङ, राई, लिम्बू लगायतका समुदायहरूको जीवन, संस्कार, संघर्ष र मनोवैज्ञानिक पक्षलाई गहिराइका साथ विश्लेषण गर्ने कृति हो। उनका शब्दमा, तत्कालीन राज्य व्यवस्थाले केही निश्चित जाति–समुदायलाई प्राथमिकताका साथ भर्ती प्रक्रियामा समेट्दा नेपाली समाजमा परेको दीर्घकालीन प्रभावलाई पुस्तकले उजागर गरेको छ।
उक्त कृतिले “लाहुरे” संस्कृतिको आकर्षणसँगै त्यसका अन्तर्निहित पीडा, द्वन्द्व र यथार्थलाई ऐतिहासिक साक्ष्य र जीवन्त प्रस्तुतीमार्फत उजागर गरेको छ। यसले स्थापित धारणा र परम्परागत विमर्शलाई नयाँ दृष्टिकोणबाट पुनर्विचार गर्न पाठकलाई प्रेरित गर्ने अपेक्षा गरिएको छ।
अध्यक्ष रोकामगरका अनुसार, पुस्तकले इतिहासलाई केवल गौरवगाथाको रूपमा प्रस्तुत नगरी आलोचनात्मक दृष्टिकोणबाट विश्लेषण गर्ने प्रयास गरेको छ। राज्य, समाज र व्यक्तिबीचको अन्तरसम्बन्धलाई पुनःपरिभाषित गर्दै विगतका अभ्यासहरूको वर्तमानमा परेको प्रभावमाथि गम्भीर बहसको आधार तयार पार्ने यस कृतिले पाठक, अनुसन्धानकर्ता तथा नीति–निर्माताहरूबीच अर्थपूर्ण संवादलाई थप सशक्त बनाउने विश्वास लिइएको छ।
लेखक मनोज घर्तीमगरले निकट भविष्यमै पोखरा र काठमाडौंमा विशेष कार्यक्रममार्फत पुस्तकहरूको औपचारिक विमोचन गरिने जानकारी दिएका छन्। पाठकलाई सहज पहुँच सुनिश्चित गर्न विमोचनअघि नै पुस्तक बजारमा उपलब्ध गराइएको उनले बताए।
नेपाल खुला विश्वविद्यालयमा मगर अध्ययन (Magar Studies) का अध्यापनरत घर्तीमगर हाल त्रिभुवन विश्वविद्यालयबाट इतिहास विषयमा विद्यावारिधि (पीएचडी) अध्ययनरत रहेका छन्।