
पोखरा, २९ मंसिर
पोखरा तथा आसपासका क्षेत्रमा छरिएर रहेका फोटोग्राफरहरूको संयुक्त पहलमा सञ्चालित कैलाश बचत तथा ऋण सहकारी संस्था लिमिटेड ले १४औँ वार्षिक साधारण सभा भव्य समारोहका बीच सम्पन्न गरेको छ।
संस्थाका पूर्व अध्यक्ष जीवन ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा फोटोग्राफर संघ गण्डकीका वरिष्ठ उपाध्यक्ष तुलसीराम सुवेदी र पोखरा फोटोग्राफर संघका अध्यक्ष भक्त तामाङ विशेष अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढुंगानाले सहकारीको स्थापना कालको स्मरण गर्दै सानो पूँजीबाट सुरु भएको संस्थाले हाल करिब ४० जनालाई रोजगारी दिन सफल हुनु गर्वको विषय भएको बताए। उनले सहकारीले उद्योग स्थापना गर्न भोग्नुपरेका संघर्षहरूको चर्चा गर्दै यस्ता उत्पादनमूलक सहकारीलाई राज्य पक्षबाट आवश्यक सेवा–सुविधा नपाइनु दुःखद भएको उल्लेख गरे। साथै, आगामी दिनमा सेवा विस्तार र गुणस्तरमा जोड दिँदै सहकारीलाई देशकै नमुना संस्थाका रूपमा विकास गर्न सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए।
विशेष अतिथि तुलसीराम सुवेदीले कैलाश सहकारीको सेवा गण्डकी प्रदेशभर विस्तार गर्न फोटोग्राफर संघ गण्डकी सधैं सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी पोखरा फोटोग्राफर संघका अध्यक्ष भक्त तामाङले पोखरा फोटोग्राफर संघ र कैलाश सहकारी ‘नङ र मासु’ जस्तै अविभाज्य रहेको बताउँदै संघका सबै सदस्य सहकारीमा आवद्ध हुनुपर्ने र सहकारीका सदस्यहरू अनिवार्य रूपमा संघमा समेत आवद्ध हुनुपर्ने धारणा राखे।
साधारण सभाको अवसरमा सहकारीले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने शेयर सदस्य तथा कर्मचारीहरूलाई सम्मान गरेको थियो। वर्षभरि उत्कृष्ट कारोवारी, असल कारोवारी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट बाल बचतकर्ता तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको हो। उद्योगतर्फ उत्कृष्ट कारोबार गर्ने २० जनालाई समेत सम्मान प्रदान गरिएको थियो।
उत्कृष्ट कारोवारीमा भगवती ढकाल र हरिशरण ढुंगाना, उत्कृष्ट बचतकर्तामा बिना ढुंगाना, बलराम शर्मा र राधाकृष्ण बराल, उत्कृष्ट बाल बचतकर्तामा आरोही अधिकारी, शान्भी दाहाल र जेनिश तिवारी सम्मानित भए। यसैगरी उत्कृष्ट कर्मचारीको रूपमा इन्दिरा अधिकारी, सन्तोष बाँस्तोला र उमेश परियार सम्मानित भए।
२०६८ सालमा स्थापना भएको यस सहकारीमा हाल १९५ जना शेयर सदस्य रहेका छन्। संस्थाको हालको शेयर पूँजी ३ करोड १० लाख २५ हजार रुपैयाँ, कुल बचत १० करोड ४५ लाख रुपैयाँ तथा ऋण लगानी ९ करोड ६४ लाख रुपैयाँ रहेको छ। सहकारीले हाल करिब ४० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ।
संस्थाले फोटो फ्रेम उद्योग सञ्चालन गर्नुका साथै फोटोग्राफरहरूका लागि आवश्यक सबैखाले सेवा उपलब्ध गराउँदै आएको छ। कलर ल्याब फोटो प्रिन्ट, फ्लेक्स प्रिन्ट, मायाको चिनो, फोटो फ्रेम, ब्यानर, फोटोग्राफी सामग्री उपलब्ध गराउनुका साथै फोटोग्राफरहरूको सीप र दक्षता अभिवृद्धिका लागि विभिन्न तालिम तथा कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा सहकारीका सात सिद्धान्तको वाचन पूर्णकुमारी थापाले गरिन्। सचिव विष्णुहरि अधिकारीले सचिवको प्रतिवेदन, कोषाध्यक्ष नवीन ढुंगानाले आर्थिक प्रतिवेदन, लेखा समितिका संयोजक विजय पहारीले लेखा प्रतिवेदन र अध्यक्ष खडानन्द अधिकारीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा शेयर सदस्य इन्दिरा शर्मा, भोलानाथ सुवेदी, शिक्षा समिति संयोजक घनश्याम पौडेल, सल्लाहकारहरू परशुराम शर्मा र रविनाथ दाहाल, तथा पूर्व अध्यक्षहरू शिवहरी अधिकारी र दुर्गाप्रसाद पौडेलले आ–आफ्ना धारणा राखेका थिए।
सहकारीका अध्यक्ष खडानन्द अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विनोदराज ढकालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव विष्णुहरि अधिकारीले गरेका थिए।






